पोखरा, २१ वैशाख– कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशका धेरैजसो जिल्लामा मंगलबारदेखि पूर्ण लकडाउन भएकाछन् । गण्डकीका कास्की, बागलुङ, स्याङजा, नवलपुरसहितका जिल्लामा अत्यावश्यकबाहेकका सबै काम बन्द गर्न आदेश जारी भएको छ ।
प्रदेशमा दिनानुदिन कोरोना संक्रमित बढ्दै गएको र त्यसले विकराल रुप लिन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएका छन् । गण्डकीमा सोमबारसम्म १९ हजार ४२४ जना कोरोना संक्रमित छन् । जसमध्ये २ हजार १ सय ८३ जना सक्रिय संक्रमित छन् । प्रदेशभर क२ सय ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २ सय ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा बाग्लुङ जिल्लामा सबैभन्दा बढी ७१ जना रहेकाछन् । त्यस्तै कास्कीको पोखरामा ४६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ संक्रमितमा नवलपरासी पूर्वका ३९ जना, गोरखामा २१ जना, स्याङजाका १४ जना , पर्वतका ५ जना, मनाङका ३ जना सहित लमजुङ र तनहुँका २ , २ जनामा संक्रमण पुष्टि भएको छ ।





