पोखरा, २३ वैैशाख – गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले गण्डकी प्रदेश खेलकुद परिषद् प्रशासनिक भवनको विहिवार शिलान्यास गरेका छन् । गण्डकी प्रदेशमा एक हप्ता अघिमात्र थप गरिएको युवा तथा खेलकुद मन्त्रालय सम्हालेका मन्त्री गुरुङले प्रदेशको सदस्य सचिव वस्ने कोठा समेत नहुनु लाजमर्दो कुरा भएकाले आफुले तत्कालै भवन बनाउन लागेको बताए ।
उनले खेलकुदमा हुने गरेको अनियमितताको अन्त्य गर्दै खेलकुदमै जीवन अर्पण गर्ने खेलाडी तथा प्रशिक्षक सहित पदाधिकारीलाई समेट्नुपर्नेमा जोड दिए । प्रदेशका ११ जिल्लामा रहेका पुर्वाधार र सम्पत्तीका विषयमा आफुले अध्ययन गरिहेको बताए । ‘हामीले टिम तयार गर्दै छौँ, टिमले नै सबै काम गर्दछ । सबै जिल्लाका पुर्वाधारको अवस्था पनि खोजी रहेका छौ ती कस्ता छन ? जानकारी लिने काम गरिरहेको छु ।’ उनले भने, पोखरामा खेलाडीहरुको लागि छात्रावास र मार्सलआर्टको सुविधासम्पन्न भवन निमार्ण गरिनेछ ।
प्रदेश सरकारको ४० लाख लागतमा स्टील संरचनाको सभाहल सहित ११ कोठे भवन ३ महिना भित्र तयार गर्ने लक्ष्य लिएको बताए ।
यस्तै, खेलकुद मन्त्री गुरुङले कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष एवम् पुर्व ह्याण्डबलका राष्ट्रिय खेलाडी धोज कुमार गुरुङलाई सल्लाहकारको रुपमा नियुक्ति गरेका छन् ।





