काठमाण्डौ, २७ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विश्वास गर्न नपर्ने सरकार नभएको बताएका छन् । विश्वासको मत लिने सन्दर्भमा संसदमा आफ्ना भनाइ राख्दै उनले भने, ‘संसदमा म प्रति विश्वास छ भन्ने पुष्टि गर्नको लागि आज विश्वासको मत लिन लागेको छु । कोरोनाको महामारी छ । विचारमार्फत होइन । स्वार्थ र संलग्नतालाई हेरेर होइन । सत्यलाई पछ्याएर निर्णय गर्नुपर्छ । सच्चाइलाई पछ्याउँछौँ भने वर्तमान सरकार विश्वास नगर्नुपर्ने सरकार होइन ।’
राष्ट्रियता र स्वाधिनताको पक्षमा अहिलेको सरकार कटिबद्ध भएको उनले स्पष्ट गरे । सुशासन र शान्ति सम्झौतालगायत देश विकासमा आफ्नो सरकार लागेको ओलीले दाबी गरे ।
उनले आफ्नो सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण नभएको समेत दाबी गरे । कोरोना महामारी नियन्त्रण गर्नका लागि सरकार लागिरहेको उनको भनाइ छ ।
उनले भने, ‘कोरोनाको खोप ल्याउनुमा अनियमिता भएको छैन, भएको पाइएमा कारबाही हुन्छ । हामीले पहिलो चरणमा पनि खोप ल्याएका थियौँ । अहिले पनि सरकार कोरोना नियन्त्रणमा लागिरहेको छ ।’
कोरोना रोकथाम तथा नियन्त्रणमा राजनीतिक सहमति बन्न नसकेको भन्दै उनले दु : ख व्यक्त गरे । संविधान आवश्यकताको आधारमा संशोधन हुनसक्ने समेत उनले बताए ।





