शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अक्सिजन लिन उद्योगमै पुग्न थाले संक्रमितका आफन्त ! उद्योग भन्छ,’अक्सिजन छ, सिलिन्डर छैन’

अक्सिजन लिन उद्योगमै पुग्न थाले संक्रमितका आफन्त ! उद्योग भन्छ,’अक्सिजन छ, सिलिन्डर छैन’

पर्याप्त सिलिन्डर नहुँदा सेवाग्राहीमात्रै नभई उद्योगीहरु पनि समस्यामा छन् ।


  • विकास मगर
  • बैशाख २८ २०७८, मंगलबार

स्थलगत रिपोर्ट
पोखरा, २८ वैशाख
दृश्य १ : पोखरा अक्सिजन प्रालि
पोखरा अक्सिजन प्रालिको गेटअघि एउटा स्कुटर बत्तिँदै आयो र राकियो । स्कुटरमा २ जना थिए । स्कुटरको पछिल्तिर बसेको अर्धबैंशे पुरुषको काखमा अक्सिजन सिलिन्डर थियो ।
स्कुटर राम्रोसँग रोकिन नपाउँदै ती अधबैंशे पुरुष हतारमा झरे र हतारमै सिलिन्डर भण्डारतिर लागे । यता, स्कुटर चलाइरकेका चालक अक्सिजन उद्योगको कार्यालयतिर लागे ।
‘सर,,, इमर्जेन्सी प¥यो । एक सिलिन्डर अक्सिजन जसरी पनि चाहियो,’ हस्याङफस्याङ गर्दै एकै श्वर त्यहाँ खटिएका सशस्त्रका जवानलाई सुनाए, ‘…यी हेर्नुुस् त ! अस्पतालको रिपोर्टै बोकेर आएका छौं ।’ उनीहरुले बोकेको रिपोर्ट पत्र चरक अस्पतालको थियो ।
२ दिनअघि एक्कासि स्वास्थ्यवस्थामा खराबी देखिएपछि अस्पताल भर्ना भएका एक महिलालाई कोरोना पुष्टि भएको रहेछ । महिला ती अर्धबैंशे पुरुषका आमा रहेछन् । ‘बुढी आमालाई एक्कासि अक्सिजन कमी भयो । धन्न पहिले नै घरमा एउटा सिलिन्डर थियो र पो….!’ जाँदाजाँदै सुनाए ।
दृश्य २: कालीगण्डकी अक्सिजन प्रालि
अगाडि ३ वटा मिनी ट्रक छन् । कामदारहरु धमाधम अक्सिजन लोड गर्दैछन् । उनीहरुलाई जतिसक्दो चाँडो सक्न व्यवस्थापन पक्षको उर्दी छ । छेउमै देखिन्छन्, केही निरास अनुहारहरु ।
उद्योगको कार्यालयतिर उनीहरुको नजर छ । कोही भित्रबाट निस्किहाल्छन् कि भन्ने आशाभाव उनीहरुको अनुहारमा प्रष्ट देखिन्छ । त्यतिकैमा एकजना उद्योग कर्मचारी बाहिर आउँछन् ।
बाहिर उभिएका ती व्यक्तिहरु घेरिहाल्छन्, ‘….. सर साह्रै अप्ठेरो प¥यो । एउटा अक्सिजन सिलिन्डर जसरी पनि मिलाइदिनुस् न ।’
कर्मचारी सोध्छन्, ‘आफ्नै सिलिन्डर छ कि छैन ?’
जवाफ दिन्छन्, ‘छैन सर । यहींबाट नयाँ भरेर लैजाने हो ।’
कर्मचारी जवाफ फर्काउँछन्, ‘त्यसो भए हामी केही गर्न सक्दैनौं । मन दुखाएर भए पनि तपाईंहरु सँग माफी चाहन्छौं ।’ यत्तिकैमा उनको फोन आउँछ । फोनमा पनि उनी आफैं सिलिन्डर लिएर आए अक्सिजन पाउने नत्र नपाउने जवाफ फर्काउँदै अफिसभित्र छिर्छन् ।
अक्सिजन पाइन्छ कि भनेर उभिएका आँखाहरु फेरि कार्यालयतिर उतै सोझिन्छन् । कार्यालयको ढोकामा लेखिएको छ, ‘अनुमतिबिना प्रवेश निषेध छ ।’
०००
पूरा गण्डकी प्रदेशमा अक्सिजन उत्पादन गर्ने जम्मा २ वटामात्रै कम्पनी छन् । दुवै पोखराको औद्योगिक क्षेत्रमा छन् । उल्लेखित २ दृश्य ती दुवै कम्पनीमा आइतबार दिउँसो स्थलगत रिपोर्टिङका लागि पुगेकाबेला देखिएका हुन् ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बजारमा अक्सिजनको माग उच्च छ । अस्पतालले मागबमोजिम अक्सिजन दिन नसक्दा कोरोना संक्रमितका आफन्तीहरु उद्योगमै धाउन थालेका छन् ।
अन्य ठाउँजस्तो अक्सिजनकै उत्पादन अपुग भने गण्डकीमा छैन । तर, पर्याप्त सिलिन्डर नहुँदा सेवाग्राहीमात्रै नभई उद्योगीहरु पनि समस्यामा छन् । उनीहरु भन्न बाध्य छन्, ‘सिलिन्डरबिना अक्सिजन दिन सक्दैनौं ।’ सरकारले सिलिन्डर व्यवस्था गर्न सके अझै उत्पादन क्षमता बढाउन सक्ने दुबै उद्योगको प्रतिवद्धता छ ।
०६१ सालदेखि पोखरामा अक्सिजन उत्पादन गरिरहेका पोखरा अक्सिजन प्रालि यसअघि यतिधेरै व्यस्त भएकै थिएन । हप्तामा मुस्किलले २ दिन उद्योग चालू हुन्थ्यो र त्यसैले बजारको माग पूरा हुन्थ्यो ।
तर, अहिले अवस्था त्यस्तो छैन । दिनमा १८ घन्टा काम गर्दा पनि हम्मेहम्मे परिरहेको उद्योगका निमित्त प्रमुख लक्ष्मण ताम्राकार सुनाउँछन् । ‘केही समयअघिसम्म पनि यहाँदेखि दैनिक जम्मा ५०÷६० सिलिन्डरमात्रै जान्थ्यो । तर, अहिले ४, ५ सयसम्म जान थालेको छ,’ उनले भने ।
प्रालिसँग आफ्नै नाममा भएको १५ यस वटा सिलिन्डर छ । तर, ती सिलिन्डरमध्ये अहिले उद्योगमा करिब ८ सय सिलिन्डरमात्रै रहेको ताम्राकार बताउँछन् । ‘बाँकी सिलिन्डर कहाँ छन् हामीलाई नै थाहा छैन । लैजानेले फिर्ता नै ल्याइदिएनन्,’ उनले भने, ‘त्यसैले हामीसँग भएका सिलिन्डर नै रोटेसनबाट काम चलाइरहेका छौं ।’
उद्योगबाट पहिले गण्डकी प्रदेशका सबै जिल्लाहरुमा अक्सिजन पुग्थ्यो । तर, अहिले पोखराकै माग बढेकाले बाहिर पठाउन नसकिएको उद्योगका एक सञ्चालक विनोद कायस्थ बताउँछन् । ‘पहिले यहाँबाट मनाङ, मुस्ताङ, तनहुँ गोरखा सबैतिर पठाउँथ्यौं । तर, अहिले पोखराकै माग बढेकाले बाहिर पठाउन सकेका छैनौं,’ उनले भने ।
उद्योगमा पहिलेभन्दा बढी चाप बढेकाले कर्मचारीको संख्या पनि थपेर काम गरिरहेको कायस्थ बताउँछन् । उनकाअनुसार कोरोना महामारी सुरु हुनुअघि त्यहाँ जम्मा ९ जना कर्मचारी कार्यरत थिए । तर, महामारी बढेसँगै माग पनि बढेकाले अहिले कर्मचारी बढाएर ११ जना पु¥याएको उनको भनाइ छ ।
‘पहिले यो अवस्था आउला भन्ने सोचिएकै थिएन । एक्कासि माग बढ्दा हामीलाई पनि समस्या भयो,’ सञ्चालक कायस्थ भन्छन्, ‘अब फेरि ४ जना कर्मचारी बढाएर २४ सै घन्टा चलाउने निर्णय नै गरिसकेका छौं ।’
अक्सिजन उत्पादन गरिरहेको अको कम्पनी कालीगण्डकी अक्सिजन प्रालिको कथा पनि उस्तै छ । पहिले हप्तामा मुस्किलले ४ दिन खुल्ने उद्योग अहिले दिनमै १९ घन्टासम्म चलाइराख्नु परेको उद्योगका निर्देशक प्रेम गिरी बताउँछन् ।
‘एकदमै बढी माग छ अहिले । योभन्दा बढी माग भयो भने त हात उठाउनुबाहेक विकल्प हुँदैन,’ निर्देशक गिरी भन्छन्, ‘उद्योगले जति पनि अक्सिजन उत्पादन गर्न सक्छ । तर, बजारमा सिलिन्डर नै नभएपछि के गर्न सकिन्छ र ?’
पहिले ४ जनाबाट सुरु गरेको उद्योगमा अहिले कोरोना महामारीपछि कर्मचारी थपेर १६ जना भएर काम गरिरहेको गिरीले जानकारी दिए । ३ हजार सिलिन्डरमध्ये अहिले आफूहरुसँग मुस्किलले १५ सयमात्रै रहेको उनले बताए ।
उद्योगी भन्छन् : सिलिन्डर र विद्युत आपूर्ति प्रमुख समस्या
अक्सिजन उत्पादनका लागि अहिलेसम्म आफूहरु सक्षम रहेको तर, सरकारी पक्षबाट सहयोग नमिलेको दुवै उद्योगको गुनासो छ । उद्योगलाई आवश्यक पर्ने विजुली आपूर्ति नियमित नहुँदा योजनाबमोजिम कार्य सम्पादन गर्न नसकेको उनीहरुको भनाइ छ ।
‘काम गर्दागर्दै झ्याप्प बिजुली जान्छ । बिजुली गयो भने फेरि प्रोसेस सुरुदेखि नै गर्नुपर्छ,’ पोखरा अक्सिजन प्रालिका सञ्चालक विनोद कायस्थ भन्छन्, ‘सरकारले यत्ति काम गरिदियो भने अझै केही समय माग थेग्न सक्छौं ।’
कालीगण्डकी अक्सिजन प्रालिको गुनासो पनि उस्तै छ । औद्योगिक क्षेत्रमा पनि विद्युत नियमित नहुँदा समस्या भोग्नु परिरहेको निर्देशक प्रेम गिरी बताउँछन् । उनी बजारमा सिलिन्डर अभाव भएकाले त्यसको आपूर्ति नहुँदासम्म समस्याको समाधान नहुने सुनाउँछन् । ‘चाहिएजति सिलिन्डर नै छैन । सिलिन्डरबिना अक्सिजन प्लान्ट स्थापना गरेरमात्रै के गर्न सकिन्छ ?’ गिरीको प्रश्न छ ।
अक्सिजनको कृत्रिम अभाव हुन नदिन दुबै कम्पनीले अस्पतालको सिफारिस लिएर आएपछिमात्रै दिने व्यवस्था मिलाएका छन् । त्यसका लागि दुबै उद्योगमा २÷२ जनाका दरले शसस्त्र प्रहरी खटिएका छन् । उनीहरुले अनुमति दिइसकेपछिमात्रै सेवाग्राहीले अक्सिजन लैजान पाउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->