पोखरा, २९ वैशाख– नेपाली कांग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन केन्द्र बनाउने र जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको छ ।
कांग्रेसले पोखरा ४, चिप्लेढुंगा र पोखरा ३०, खुदीमा रहेको पार्टी कार्यालयलाई आइसोलेसन बनाउने घोषणा गरेको हो । कांग्रेसका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नविन सिग्देलले मंगलबार सो जानकारी कास्की प्रशासनलाई गराएका छन् । प्रवक्ता सिग्देलले पार्टीले कोभिडको महामारीलाई लक्षित गरी जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेसले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसँग एम्बुलेन्स संचालनको अनुमति पनि मागेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने बताए । ज्ञापनपत्रमा संकटका बेला कोरोनाविरुद्वको भ्याक्सिन खरिदमा समेत सरकार कमिसनको खेलमा लाग्नु निन्दनीय भएको भन्दै खेद गरिएको छ भने कमिसनको विषय तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।





