पोखरा, १ जेठ– कोभिड–१९ को दोस्रो लहरले देश त्राहिमाम छ । नागरिकहरु शोक र भोकले एकैचोटी छट्पटाउन थालेका छन् । अस्पतालमा अक्सिजनको अभाव छ । उपचार नपाएर नागरिकहरुले ज्यान गुमाइरहँदा देशमा चाहिँ ‘नयाँ कोर्ष’बाट पुृरानै प्रधानमन्त्री र मन्त्रीहरु पाएको छ । देशको नयाँ प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् । ओली ओली नेपालको संधिवानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको रुपमा अल्पमतको सरकारको प्रधानमन्त्री बनेका हुन् । उनले एक महिनाभित्र संसदमा बहुमत सावित गर्नुपर्ने छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार नै मन्त्रीहरुलाई सपथ खुवाएका छन् । मन्त्रिमण्डलमा नयाँ अनुहार थप्ने चर्चा चलेपनि उनले नयाँलाई मन्त्री बनाएन् । सदनमा विश्वासको मत नपाएका ओलीलाई तेस्रोपटक प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निभाएको जनता समाजवादी पार्टी पनि तत्काल सरकारमा गएन । प्रधानमन्त्री ओलीले पार्टीकै माधव–झलनाथ समूहका नेतालाई पनि मन्त्री बनाएनन् । बरु, उनले सांसद नभएका÷पद गुमाएकाहरुलाई पनि मन्त्रीमा निरन्तरता दिए । प्रधानमन्त्रीको पद सम्हालेजगत्तै उनले देशकै ठूलो सभागृहको उद्घाटन गरे । मन्त्रीहरुलाई निर्देशन दिँदै उनले सरकार भ्रष्टाचारमा डुबेको भन्ने विपक्षीको भनाईको खण्डन गरे ।सरकार बनाउन नसक्ने विपक्षीहरुले अहिलेको घटनाक्रमलाई प्रतिगमन भनेको उनले आरोप लगाए ।





