पोखरा, ७ जेठ– कास्की निर्वाचन क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आवश्यक भएको बताएकी छन् । उनले स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष जोड दिएकी छन् ।
भट्टराईले बिहीबार प्रेस नोट जारी गर्दै कोभिड नियन्त्रणको लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की क्षेत्र नं २ अन्तर्गत वडा नं २१ स्थित कृष्ती, नाच्नेचौरमा रहेको स्वास्थ्य केन्द्रमा ५ बेडको अक्सिजनसहितको आइसोलेसन केन्द्र संचालनमा ल्याउन लागिएको, पोखरा १६ स्थित मातृशिशु मितेरी अस्पतालमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको, प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा २५ बेडको भेन्टिलेटर र आइसीयू बेड स्थापनाको काम सुरु भएको तथा साविकको लेखनाथ नगरपालिकाको कार्यालय र साविक वार्ड नं २७ को भवनलाई एक सय शैयाको कोभिड अस्पतालमा रूपान्तरित गरि करिब २ हप्तामा सन्चालनमा ल्याउने तयारिका साथ प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिएकी छन् । उनले पोखरा महानगर वडा न ३३ मा पनि ५९ बेड क्षमताको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको जानकारी गराउँदै जनतालाई कुनै अफ्ठेरो परेका नागरिकहरुले आफ्नो स्वकीय सचिवलाई टेलिफोन गरी सहयोग लिन आग्रह पनि गरेकी छन् ।





