काठमाण्डौ, ७ जेठ– नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन दलहरुसँग छलफल गर्ने भएको छ । सभापति शेर बहादुरदेउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले यसका लागि अन्य दलसँग छलफल गर्ने निष्कर्ष निकालेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै कांग्रेसले यस्तो निष्कर्ष निकालेको हो । काँग्रेसले यो सरकार बनेदेखि नै संविधानको मर्म र भावनामाथि प्रहार भइरहेको ठहर गर्दै गम्भीर ध्यानाकर्षण भएको नेता लेखकले बताए ।
कांग्रेसले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वानलाई असंवैधानिक भएको भनेको छ। यस्तै, राष्ट्रपतिले नयाँ सरकार गठनका लागि समय दिएपछि दलहरु छलफलमा जुटेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड अहिले बुढानिलकण्ठ पुगेका छन् । प्रचण्ड देउवा निवास पुगेको र आगामी कदमबारे छलफल हुने नेता लेखकले जानकारी दिए ।





