काठमाण्डौ, ७ जेठ – संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनको दावी गर्दै विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति भवन शीतल निवासतर्फ लागेका छन् । सिंहदरबारमा केही बेर बसेको बैठकपछि माधव नेपाल पक्षका सांसदहरुको समेत हस्ताक्षर बोकेर कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने दावी प्रस्तुत गर्न गएको नेपाली काग्रेसका सभासद गगन थापाले संकेत गरे । उनले भने, ‘नेताहरु सल्लाह गर्दै जादैहुनुहुुन्छ । अरु कुरा उत्तै गएर वुझ्नुहोस न । १४९ सभासदको हस्त्ताक्षर लिएर जानु भएको छ ।’
यस अगाडि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल भएको थियो । उक्त छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।





