काठमाडौं, ९ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘नपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८’ जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति जारी गरी उक्त जानकारी दिए ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध आधारमा नेपाली नागरिकता प्राप्त गरेकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधानसहितको अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
नागरिकतासम्बन्धी व्यवस्थामा संशोधन गरी अध्यादेश ल्याइएको थियो । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने अन्तरिम संविधानमा व्यवस्था थियो ।
मधेश केन्द्रित दलले नागरिकताको व्यवस्था सम्बन्धी अहिलेको प्रावधानको विरोध गर्दै आएका थिए । जनता समाजवादी पार्टीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश ल्याउन तयार भएका हुन् । वर्तमान संविधानमा निर्माण गर्दा उक्त व्यवस्था हटाइएको थियो ।





