आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अन्योलमा क्रिकेट मैदान, ‘रिटर्निङ वाल’ मै अड्कियो योजना

अन्योलमा क्रिकेट मैदान, ‘रिटर्निङ वाल’ मै अड्कियो योजना

डिपिआर बनेको १ वर्ष पुग्न लाग्दासमेत निमार्णको काम हुने देखिएको छैन ।


  • विजय नेपाली
  • जेष्ठ १० २०७८, सोमबार

पोखरा, १० जेठ– गण्डकी प्रदेशले आफ्नै क्रिकेट रंगशाला निमार्ण गर्ने योजना अघि सा¥यो । सामाजिक विकास मन्त्रालय अन्तर्गत बजेट विनियोजन गरी आफ्नै लगानीमा क्रिकेट रंगशाला निमार्ण गर्न लागेको हो । सरकारले पहिलो चरणमा २ करोड रुपैयाँसमेत छुटायो ।
पोखरा ३३ पशुपतिघाटमा करिब ४ सय रोपनी क्षेत्रफल मैदानको लागि प्रदेश सरकारलाई प्राप्त भएको छ । २ वर्ष लगाएर जग्गा प्राप्तिपछि मैदान निमार्णका लागि ५० लाख रुपैयाँ छुटाइयो र प्रारम्भिक काम अघि बढ्यो । मैदानको डिपिआर बनाउने काम भयो । अघिल्लो वर्ष लकडाउनकै बेला डिपिआर बनाउन टेन्डर आह्वान समेत गरियो । उक्त डिपिआर ललितपुरको बिआरएस इन्जिनियरिङ सोलुसनले जिम्मा पायो ।
डिपिआर बनेको १ वर्ष पुग्न लाग्दासमेत निमार्णको काम हुने देखिएको छैन । भौतिक पूर्वाधार अन्तर्गत शहरी विकास तथा भवन कार्यालयलाई आवश्यक बोलपत्र लगायत सम्पूर्ण काम गर्न सामाजिक विकास मन्त्रालयले अख्तियारी दियो । डिपिआर पश्चातको बाँकी कामका लागि भौतिक पूर्वाधार मन्त्रालयमा दिएको सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले मन्त्रालयलाई कामबारे थाहा नभएको बताए । ‘हामीले सबै जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई दिएका छौं । बाँकी जानकारी उतै थाहा होला,’ उनले भने, ‘अब हामीले केही गर्ने होइन उतैबाट गर्ने हो ।’
सामाजिक विकास मन्त्रालयले भौतिक पुर्वाधारतर्फ पठाएपछि भने योजनामा केही समस्या देखिएको छ । भौतिक पुर्वाधार शहरी विकास कार्यालयले सर्वे गर्ने क्रममा भने उक्त क्षेत्रमा बर्षेनि सेती नदीले जमिन कटान गरेको कारण तत्काल क्रिकेट मैदानको काम गर्न नसकिने बताएको छ । शहरी विकास तथा भवन कार्यालयलका प्रमुख सिभिल डिजाइन इन्जिनियर महेन्द्र बहादुर बानियाँले नदीले जमिनको भाग कटान गरेकाले आफुहरुले बोलपत्र आह्वान गर्न नसक्ने बताए ।
‘रंगशालाको लागि १ अर्ब २० करोडमाथिको बजेट लाग्ने देखिएको छ । हामीलाई १ करोड ७५ लाख रुपैयाँ आयो । उक्त रकम मैदान सम्याउने लगायतका कामका लागि थियो,’ उनले भने, ‘तर साइड हेर्दा सेती किनारमा प्रोटेक्सन नगराई काम गर्न सकिँदैन । करिब १५ करोड खर्चेर रिटर्निङ वाल लगाउनुपर्छ । २०–२२ दिन अघि जलस्रोत तथा सिचाइँ कार्यालयले जलउत्पन्न प्रकोप नियन्त्रणका लागि काम गरिरहेको छ । सोहि वेला सिचाइँलाई अख्तिीयारी दिएको हो ।’
लगानी ठुलो भएकाले सेती किनारले कटान हुने क्षेत्रको संरक्षणका लागि पहिले रिटर्निङ वाल लगाउनुपर्ने उनको भनाइ छ । सेतीले कटान हुनेबारे आफूहरु पहिले जानकार नभएको उनले बताए । ‘पहिले यसको बारेमा अपडेट नै भएन । अपटेड भएको भए डिपिआर समेत अर्कै हुने थियो,’ उनले थपे, ‘वाल नलगाएसम्म काम गर्न सकिँदैन ।’ उनले पनि रिटर्निङका लागि जलस्रोत सिचाइँलाई अख्तियारी दिएको बताए ।
उता जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालय कास्कीले भने आफूहरुलाई यसबारेमा थाहा नभएको बताएको छ । डिभिजन कार्यालय प्रमुख सिभिल डिजाइन इन्जिनियर किरण आचार्यले यसबारेमा केही थाहा नभएको बताए । ‘हामीले गर्ने भनेको सिचाइँको काम हो कहाँ त्यो काम गर्छौ ? यसबारेमा आइडिया नै भएन,’ उनले भने, ‘यो मैदान बनाउने काम सामाजिक विकास मन्त्रालयको हो ।’
रिटर्निङ वाल कसले लगाउने भन्ने विषय भने अन्योलमा छ । सामाजिक विकास मन्त्रालयले भौतिक पुर्वाधार मन्त्रालयलाई जिम्मा दिएको बताउँदै पन्छियो । उता भौतिक पुर्वाधार मन्त्रालयमा भने मन्त्रालय अन्तर्गतका कुन निकायले मैदानका लागि के काम गर्ने भन्ने नै एकीन भएको छैन । अहिले सोही कारण बोलपत्र आह्वानको कामसमेत अघि बढ्न सकेको छैन । अघिल्लो वर्ष ४ वर्ष भित्र खेल्न मिल्नेसम्मको मैदान निमार्ण गर्ने योजना रहेपनि रिटर्निङ वालको कारण रोकिएको छ । जसको कारण एक वर्षसम्म पनि बोलपत्र आह्वान हुन सकेको छैन । सुविधासम्पन्न मैदान सम्पन्न गर्न करिब १ अर्ब ६३ करोड रुपैँया लाग्ने अनुमान गरिएको छ । उक्त क्रिकेट रंगशाला १८ हजार दर्शक क्षमताको प्यारापिटसहितको बन्ने छ । अन्तर्राष्ट्रिय स्तरको प्रदेशको मैदानमा टी–२०, एकदिवसीय र टेष्ट म्याच खेल्न मिल्ने विभिन्न ७ वटा पिच बन्ने छ । मैदानको डिपिआर बनाउन मात्रै १६ लाख रुपैयाँ लागेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->