पोखरा, १२ जेठ- कोरोना संक्रमणका कारण निधन भएका पत्रकार जगन्नाथ पौडेल (गणेश) को स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।
पौडेलको निधन भएको १३औं दिनको पूण्य तिथिका दिन नेपाल पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो । सभामा अग्रज पत्रकार नारायण कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना ,महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी,
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस संगठनका अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार अपिल त्रिपाठी, महासंघका सचिव माधव बराललगायतले बोलेका थिए ।
देशभर १६ जना पत्रकारको निधन
नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १६ जना पत्रकारको निधन भएको छ । यस्तै, ८५० जना पत्रकार संक्रमित भएको महासंघका केन्द्रीय सदस्य सरिता पगेनी तिमिल्सिनाले जानकारी दिइन् ।
उनले पत्रकार महासंघले कोरोना संक्रमणबाट निधन भएका प्रत्येक पत्रकारका परिवारलाई ३० हजार रुपैयाँ उपलव्ध गराउने निर्णय भएको जानकारी दिइन् ।
यस्तै, गण्डकीमा कोरोना संक्रमणका कारण दुई जना पत्रकारको निधन भएको छ । गण्डकीमा हालसम्म १०९ जना पत्रकार संक्रमित भएको र अधिकांश निको भइसकेको महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये हाल सात जना सक्रिय अवस्थामा छन् । उनीहरु होम आइसोलेशनमै रहेका छन् ।





