बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पहिचान आफ्नै : प्रयोगशालाकर्मी …फलानो होइनौं !

पहिचान आफ्नै : प्रयोगशालाकर्मी …फलानो होइनौं !

आफ्नो सेवाको पहिचान र सो अनुरुपको सम्मान पाउँदा नजानिँदो मुस्कान स्वतः आउने रहेछ ।


  • रिया शर्मा
  • जेष्ठ १८ २०७८, मंगलबार

बिरामीहरुको स्वास्थ्य स्थितिमा सुधार ल्याउनु स्वास्थ्यकर्मीको पहिलो कर्तव्य हो । बिरामीहरुलाई अस्पताल आएदेखि स्वस्थ भएर घर फर्कंदासम्म विभिन्न स्वास्थ्यकर्मीको संलग्नता हुन्छ । कोही प्रत्यक्ष बिरामीको साथमा हुन्छन् भने केही पर्दा पछाडिको नायकजस्तै बिरामीको रोग निदानमा लागेका हुन्छन् । स्वास्थ्य सेवामा आफ्नो अमूल्य योगदान र हरसम्भव समय दिनुपर्ने स्वास्थ्य सेवामा धेरै विशेष विभागहरु छन् । त्योमध्ये अप्रत्यक्ष स्वास्थ्य सेवाको अपरिहार्य पाटो हो– प्रयोगशाला । बिरामीमा देखिएका संकेतका आधारमा आवश्यकता र वंशाणुगत रोगको लागि बिरामीका फरकफरक नमूनाहरुबाट रोग पत्ता लगाई रोग निदानका लागि नतिजा दिने जिम्मेवारी प्रयोगशालाकर्मीको हुन्छ । रोग निदानमा मुख्य भूमिका खेलेको चिकित्सा प्रयोगशाला विज्ञान अति संवेदनशील पक्ष हो । बिरामीको रगत, पिसाब, दिसा, आन्तिरिक अङ्गबाट लिइएको तरल पदार्थ, अङ्गहरुको कुनै भाग, छाला रौ जस्ता नमूनाबाट विभिन्न सुक्ष्म जीवको संक्रमण पत्ता लगाउने, अनेक स्वास्थ्य सूचकको मात्रा थाहा पाउने कार्य मुख्यतः प्रयोगशालाले गर्दछ । असीमित अध्ययन र अभ्यासको संयोजनले बनेका चिकित्सा प्रयोगशाला प्राविधिकलाई सम्पूर्ण स्वास्थ्य व्यवस्थाको अभिन्न अंगका रुपमा राज्यले स्वीकार गरिसकेको छ ।
नेपालमा प्रयोगशाला सेवाको इतिहास नियाल्दा १९६८ सालमा केन्द्रीय स्वास्थ्य प्रयोगशाला दर्ता भएको देखिन्छ । जसलाई १९९१ सालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) नामाकण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको मातहतमा एनपिएचलएल सञ्चालनमा छ । प्रयोगशाला दर्ता, पर्यवेक्षण र मूल्याङ्कनको कार्य यस प्रयोगशालाबाट हुँदै आएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको आधिकारिक वेवसाइटमा रहेको तथ्याङ्क अनुसार ४३१ प्रयोगशाला दर्ता छन् जसमध्ये २७७ सरकारी प्रयोगशाला रहेका छन् । प्रयोगशाला वर्गका आधारमा ए, बि, सी, डी वर्गका क्रमशः १९, ५०, २२५, १३९ प्रयोगशाला छन् । सञ्चालित प्रयोगशालामध्ये कोभिड प्रयोगशाला संख्या ९१ छ । प्रयोगशालाकर्मीको दर्ता प्रक्रिया भने नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) ले गर्दै आइरहेको छ । परिषदको आधिकारीक सूचना प्रणालीमा रहेको तथ्याङ्कमा २०७७ भाद्र ८ सम्म स्थायीरुपमा दर्ता भएका चिकित्सा विज्ञान प्रयोगशालाकर्मीको संख्या २९ हजार ५९७ छ भने विशिष्ट इकाइमा ६२२ जना प्रयोगशालाकर्मी दर्ता छन् । जनशक्ति उत्पादनमा सिसिइभिटी र विश्वविद्यालयद्धारा ल्याव टेक्नोलोजी विषयका विभिन्न श्रेणीका अध्यापनहरु भइरहेका छन् ।
रोग निदानको लागि प्रयोगशालाजन्य परिक्षणको दायरा र आवश्यकता बढ्दै गएसँगै जनमानसमा यससम्बन्धी ज्ञान र चासो पनि बढिरहको छ । विशेषत ग्रामीण र विकट क्षेत्रहरुमा अझसम्म पनि प्रयोगशाला र प्रयोगशालाकर्मीको महत्वबारे प्रष्ट भएको पाइँदैन । भर्ना भएका बिरामीको नमूना संकलनमा डाक्टर नर्सको नै संलग्नता हुने भएकाले अस्पताल बसाइपश्चात प्रयोगशालाबारे थाहा भएपनि प्रयोगशालामा खटिने जनशक्ति छुट्टै हुन्छ भने ज्ञान धेरै कम मानिसमा छ । म स्वयम् २०७३ सालमा प्रमाणपत्र तहको अध्ययन सम्पन्न गरे पश्चात सेवामा संलग्न छु । हाल स्नातक तहको अध्ययनमा रहँदा पनि प्रयोगशाला प्राविधिकहरुको पहिचान सबैमा प्रष्ट नभएको महशुस गरेकी छु ।

प्रयोगशालामा लेखक

म ल्याबोरट्री टेक्नोलोजी अथवा चिकित्सा प्रयोगशाला विज्ञानको अध्ययन गर्दैछु भनेर आफ्नो अध्ययन विवरण सुनाउँदा नबुझ्नेको जमात धेरै नै थियो । मैले मेरो अध्ययन स्वास्थ्य सेवासम्बधी हो भन्ने जानकारी दिन भ्याउदा नभ्याउँदै मेरो शिक्षाप्रतिको उल्झनपछि लामबद्ध आउने प्रश्नमा ए ! त्यो नर्सिङजस्तो, नत्र अहेव वा अनमी जस्तो हो कि ? हैन भने ह्(च्ब्थ् गर्ने होस कि एच.ए. जस्तो हो ? यस्तै कैयौ प्रश्नसँग मेरो अध्ययन क्षेत्रले यो जस्तो त्यो जस्तो, फलानाकी छोरा छोरीजस्तो के–के… धेरै जस्तोको अनुमान आयो । धेरै प्रचलनमा र व्यवहारमा आएका पेशाप्रति जानकारी हुनु नयाँ कुरा अवश्य हैन । एक नैतिकवान नागरिकको हैसियतले म सम्पूर्ण स्वास्थ्यकर्मी र पेशाको हृदयदेखि सम्मान गर्दछु । धेरै प्रसंगहरु पुराना हुँदापनि स्वास्थ्यकर्मीको नाताले यस्तो अन्यौलतामा पहिचान पाउनु सहजै नस्वीकारिनुले खिन्नताबोध भएकै थियो ।आफ्नो पेशाको जानकारी दिँदासम्म लगभग सबै प्रयोगशालाकर्मी यस्तै अनेकाँै प्रश्नसँग साक्षात्कार हुनु सामान्य भैसकेको छ । हामी परिचयकै क्रममा थियौं । गुणस्तरीय उपचारको पद्धति विकास भैरहदा बिरामीको उपचारमा चिकित्सकले अनुमान गरेका रोगका सही तथा गलत पुष्टि गर्नुपर्ने आवश्यकताले प्रयोगशालाजन्य जाँचहरु बढ्दै गए । रगत, दिसा–पिसाब खकार परीक्षण गर्नुपर्ने बिरामीको संख्या बढ्दै जादा, ए ! तिमीहरु त्यो रगत जाच्ने हौ ? जस्तो प्रश्नमा एक सन्तोषको मुस्कान आउँथ्यो । साथीभाई तथा आफन्तका छि ! त्यस्तो रगत, दिसा, पिसाब, खकार, विर्य, चलाउने पढ्ने ! त्यस्तो काम गर्ने हो छि ! छि ! जस्तो वाक्यले निराश बनाउँथ्यो । स्वास्थ्य उपचारका प्रक्रियाबारे ज्ञान नभएका समूहबाट आएका यी अभिव्यक्तिले पढाई र पेशा नै छाडेर अन्य केही गरौँ कि सम्मको क्षणिक मानसिकता पनि विकास भयो ।

साथीभाई तथा आफन्तका छि ! त्यस्तो रगत, दिसा, पिसाब, खकार, विर्य, चलाउने पढ्ने ! त्यस्तो काम गर्ने हो छि ! छि ! जस्तो वाक्यले निराश बनाउँथ्यो । तर, अहिले समय बदलिएको छ ।

अस्पताल गएपछि देखिने सेता बर्दिधारीहरु सबै एकै हुन् । डाक्टर नर्सले नै गएर रगत, दिसापिसाबको जाँच गर्छन् जस्ता अवधारणाबाट व्यक्तिहरु प्रयोगशाला विज्ञान अलग हो, त्यहाँ पनि प्रत्येक इकाइका विशेषज्ञहरु हुन्छन् भन्ने जानकारी लिनेहरुको संख्या बढ्दै गएको छ । यस्तो अवस्था देख्नु हामी फलाना जस्तै होस् ? भन्ने पहिचान पाएका स्वास्थ्यकर्मीका लागि सुनौलो बिहानी आउनुजस्तै हो । बिहानीमा अझ विशेष अर्थपूर्ण किरण छरेको श्रेय कोभिड–१९ लाई दिनु गलत ठहरिने छैन । खासगरी ग्रामीण र अलिक स्वस्थ्य व्यक्तिहरुको लागि प्रयोगशाला परिचयको माध्यम कोभिड–१९ बनेको छ । कोभिड–१९ रोग परीक्षणको लागि स्वाव संकलन र प्रयोगशालामा रोग निदान गर्ने प्रयोगशाकर्मी हुन् भन्ने सन्देश प्रवाह भैरहेको छ । अहिले कुनै बयस्कसँग म चिकित्सा प्रयोगशाला विज्ञान या ल्याव टेक्नोलोजी पढ्दै छु भन्दा उनी बुझ्छन् । अनि सँगैको वृद्धलाइ पनि यो भन्दै बुझाउँछन कि त्यो कोराना भाइरस लागेको पत्ता लगाउने, रगतको कमी, सुगर बढेको, टिबी लागेको, पिसाब खराबी भएको, जुका परेको सबै जाँच्ने, समस्या पत्ता लगाउने विषय पढेकी रहिछन् भनेर उदाहरणसहित बुझाउछन् । आफ्नो सेवाको पहिचान र सो अनुरुपको सम्मान पाउँदा नजानिँदो मुस्कान स्वतः आउने रहेछ ।
विगतमा स्वास्थ्य सेवामा अन्दाजी उपचार चल्दै थियो । प्रयोगशालाहरुले पनि आवश्यक स्थान पाएका थिएनन् । हालको बढ्दो संक्रामक रोगको जटिलता, रोगको अन्तिम निदान, बिरामीको स्वास्थ्य सुधारको गति, चिकित्सा विधीबाट बिरामीमा भएका प्रतिक्रिया, समुदायमा सम्भावित रोगहरुको परीक्षण जस्ता कार्यबाट जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने प्रयोगशालाको सेवा बिस्तार र गुणस्तर व्यवस्थापनमा ध्यान दिनु अत्यावश्यक छ । सम्पूर्ण प्रयोगशालामा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)द्धारा परिभाषित ४ जैव सुरक्षास्तर (वायोसेफ्टी लेभल) अनुसारका आवश्यक संरचना, उपकरण सुविधा, अभ्यास र प्रक्रियाहरुको संयोजन हुनु गुणस्तरीय नतिजाका लागि अपरिहार्य व्यबस्था हो । प्रयोगशालासँग सम्बन्धित जोखिम नमूनाहरु र प्रक्रियात्मक अभ्यासबाट आउँछन् । कुनै पनि अवस्थामा सम्भावित दुषप्रभावबाट प्रयोगशालाकर्मी, वातावरण र सुक्ष्मजीवहरुलाई सुरक्षित राख्न जरुरी हुन्छ । जोखिम समूहका जिवको परीक्षणका लागि विभिन्न वायोसेफ्टी क्याविनेट प्रयोग गरी सम्भावित जोखिम न्यून गर्नुपर्ने हुन्छ । सिडिसीको प्रावधान अनुसार वर्गिकृत ३ बायोसेफ्टी क्याबिनेटमध्ये १ र २ को प्रयोग जैव सुरक्षास्तर १ र २ को लागि, बायोसेफ्टी क्याबिनेट ३ प्रयोग जैव सुरक्षास्तर ३ या ४ मा अनिवार्य गरिनुपर्छ । नेपाल सरकारको स्वास्थ्य नीतिमा संलग्न उद्देश्य अुसार हरेक स्थानीय तहमा प्रयोगशालासहितको स्वास्थ्य सेवा अवधारणाले गति लिन सके गुणस्तरयुक्त स्वास्थ्यसेवा, स्वास्थ्यकर्मीको पहिचान, सम्मान र स्वास्थ्य सुरक्षाको प्रत्याभूति सबैले गर्नेछन् ।
(शर्मा मेडिकल ल्याबोरेटरी टेक्निसियन हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->