बेनी, २१ जेठ – बेनी अस्पतालका लागि आवश्यक पानी परिपूर्ति गर्न बोरिङ सञ्चालन गरिएको छ । ५० शैयाको अस्पताललाई दैनिक आवश्यक पर्ने खानेपानीको प्राकृतिक स्रोतको व्यवस्थापन हुन बोरिङ प्रविधि योजना अगाडि सारिएको थियो ।
बोरिङका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा भारतीय प्राविधिक सहितको टोलीमार्फत जमिन मुनीबाट पानी निकालिएको हो । ५० मिटर, १ सय र १ सय ५० मिटर तल जमिन मुनीबाट प्रति सेकेन्टर ४. ६७ लिटर खानेपानी निकाल्न सफल भएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।
जमिन मुनीबाट पानी निकाल्ने कार्य सफल भएपछि तत्काल पुरानै ट्या)की र आगामी आवमा थप संरचना बनाउने अस्पतालले जनाएको छ । अबको ३ दशक सम्मलाई खानेपानीको अभाव हुन नदिने गरी संरचना बनाइरहेको छ । ड्रिलिङ गरेर १ सय ५० मिटर जमिन मुनी खन्दा नजिकै रहेको कालिगण्डकी नदीको सतहसम्म पुग्ने भएकाले पानी आवश्यकता भन्दा धेरै बाहिर आउने प्राविधिक पक्षको भनाइ छ ।
बोरिङ खन्नका लागि २० लाखको बजेट बिनियोजन गरिएको छ । जमिन मुनीबाट आएको पानीलाई नजिकै ठूलो ट्यांकी निर्माण गरी जम्मा गरिने छ । हाल अस्पतालभित्र रहेका ट्यांकीको क्षमता सानो भएकाले नयाँ संरचना बनाउनसमेत थप बजेटको तयारी गरिएको छ । ट्यांकी निर्माणको लागि गण्डकी प्रदेश सहितका सरकारी निकायलाई बजेट माग गरिने अध्यक्ष कटुवालको भनाइ छ । म्याग्दीमा बोरिङ प्रविधिको पानी निकाल्ने बेनी अस्पताल पहिलो संस्था भएको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा प्रयोग भइरहेको खानेपानी समेत उत्तरी म्याग्दीबाट पाइपको सहायताबाट ल्याउने गरिएको अवस्थामा बेनी अस्पतालको यो प्रोजेक्ट सफल भएमा अन्य संघसंस्थालाई समेत यो प्रविधिको प्रयोगमा सहज हुने देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारसहित आसपासका क्षेत्रमा बसोबास गर्ने करिब २० हजार जनसंख्यालाई बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गरिरहेको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने १९ हजार जनसंख्यालाई शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोलाबाट प्रति सेकेन्ड २५ लिटर बराहपाखोमा रहेको ३ ओटा इन्टेक, ४ वटा आरभिटी र १ सय ७० ओटा वितरण च्याम्बर रहेका छन् । बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा खानेपानीको पाइपमा क्षति पुग्दा खानेपानी आपूर्तिमा समस्या भइरहेको छ ।





