आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कास्कीको भेडाबारीमा बन्ने ‘फिफा ड्रिम प्रजेक्ट’ अन्योलमा

कास्कीको भेडाबारीमा बन्ने ‘फिफा ड्रिम प्रजेक्ट’ अन्योलमा

२०७७ सालमै शिलान्यास गर्ने भनेपनि ०७८ साल लागिसक्दासमेत टेन्डर हुन सकेको छैन ।


  • विजय नेपाली
  • जेष्ठ २५ २०७८, मंगलबार

पोखरा, २५ जेठ – विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै ड्रिम प्रोजेक्ट नेपाललाई दियो । फिफा अन्तगर्तको यो एसियाकै सबैभन्दा ठूलो लगानी हो जुन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिइएको छ । एन्फाले उक्त प्रोजेक्ट कास्कीको भेडाबारीमा बनाउने योजना अगाडि बढायो ।
मिनी रंगशालासहितको एन्फा टेक्निकल सेन्टरका लागि डिपिआर बनाउने काम समेत भयो । स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाईसमेत गरियो । एन्फाको टेक्निकल टिमले स्थलगत निरीक्षणसमेत गरेर भ्याए । सबै तरिकाले उक्त स्थल प्रोजेक्टका लागि योग्य ठहरियो ।
२०७६ सालमा नेपालले प्रोजेक्ट पाएसँगै कास्कीमा बनाउने योजना अघि बढेको थियो । २०७७ सालमा उक्त प्रोजेक्टको शिलान्यास गरिने बताएपनि ०७८ साल लागि सक्दासमेत टेन्डर आह्वान हुन सकेको छैन ।
फुटबलको मात्र नभई स्थानीयस्तरमै विकासका गर्ने अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिने उक्त प्रोजेक्टको सपना देखेका स्थानीय पनि कहिले बन्छ भन्ने आशामा बसिरहेका छन् । फिफाको आर्थिक सहयोगमा बन्ने परियोजनाको लागत निकै ठूलोे छ । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैयाँ छुट्टिएको छ । एन्फाले ४ चरणमा काम सक्नेछ । पहिलो चरणअन्तर्गत अभ्यास मैदान, छात्रवास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ । टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, दुई कृतिम मैदान, दुई बालुवा मैदान, स्विमिङपुल, रेष्टुरेण्ट,पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा रहेको छ । उक्त योजना पूरा गर्न ८० देखि ९० करोडसम्म लाग्ने अनुमान छ ।
प्रोजेक्टको शिलान्यास नभएतापनि माछापुच्छे« गाउँपालिकाले भने खोलाले कटान हुन सक्ने क्षेत्रमा २ सय मिटरसम्म बाध लगाउने काम सुरु गरिसकेको छ ।
कोभिडको कारण फिफाले काम गरेको छैन ः कृष्ण थापा केन्द्रीय उपाध्यक्ष एन्फा
कोभिडको कारण फिफाले कुनै पनि कार्य गरिरहेको छैन । कोभिड सकिए वा केही सहज वातावरण सृर्जना भएपश्चात काम होला । फिफाका पदाधिकारी आउन भने बाँकी नै छ । बनाउने योजना आएको २ वर्ष बितिसक्यो । फिफाको पदाधिकारी आएर हेरेपश्चात बल्ल टेन्डरमा जाने उनले बताए ।
कोभिडको कारण काम हुन सकेन : मिलन गुरुङ अध्यक्ष, कास्की जिल्ला फुटबल संघ
अघिल्लो वर्षमै शिलान्यासको काम सुरु गर्ने योजना थियो । तर, सम्भव भएन । कोरोना भाइरसले २ वर्ष बिथोलिदिँदा काम गर्न सकिएन । कोरोना महामारी केही सामान्य हुने वित्तिकै काम सुचारु हुन्छ शिलान्यास हुन्छ । यो प्रोजेक्ट सफल पार्न सबैको सहयोग आवश्यकता छ । विशेष गरी स्थानीय युवालाई खेलकुदमा अग्रसर गराउन मद्दत पुग्ने आशा लिएका छौं । हाल उक्त क्षेत्रको ९५ रोपनी जग्गा प्रयोग हुने छ ।
गौरवको योजनामा हाम्रो साथ छ : कृष्ण कुमारी पौडेल दवाडी
अहिले रिटर्निङ वाल लगाउने काम भएको छ । ५ करोड लागत अनुमान गरिएको छ । यो एउटा गौरवको योजना हो त्यसैले पनि गाउँपालिकाले रिटर्निङ वाल लगाउने काम गर्छ । हामीले पालिकाबाटै १ करोड ५० लाखको लागतमा २ सय मिटरसम्म वाल लगाउँदै छौं । करिब करिब सम्पन्न भएको छ । १ किलो मिटर वाल लगाउनुपर्छ हामीले प्रदेश सरकारलाई गुहारेका छौ हेरौँ के हुन्छ ? यो प्रोजेक्टले यस क्षेत्रको मात्र नभइ समग्र देशकै खेल पर्यटनमा विकास गर्न सक्छ । विशेष गरी स्थानीय युवालाई खेलकुदमा अग्रसर गराउन मद्दत पुग्ने आशा लिएका छौँ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->