आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘फ्लड लाइट’लाई ६ करोड छुट्याइयो

‘फ्लड लाइट’लाई ६ करोड छुट्याइयो

फिफा मापदण्डअनुसार बनाउन १४ करोड चाहिने ।


  • विजय नेपाली
  • जेष्ठ २९ २०७८, शनिबार

पोखरा, २९ जेठ– पोखरा रंगशालामा निमार्णधीन अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानमा फ्लड लाइट राख्न राष्ट्रिय खेलकुद परिषद्ले ६ करोड रुपैयाँ विनियोजन गरेको छ । फिफा मापदण्डअनुसारको फ्लड राख्ने गरी उक्त रकम विनियोजन भएको परिषद्ले जनाएको छ ।
निमार्णाधीन रंगशालाको पहिलो चरण १७ हजार ५ सय सिट क्षमतासहितको अन्तर्राष्ट्रिय फुटबल मैदानको काम करिब सकिनै लाग्दा लाइट राख्न छुटिएको हो । यद्यपि विनियोजित रकम पनि अपुग हुने अखिल नेपाल फुटबल संघ (एन्फा )का अध्यक्ष कर्मा छिरीङ शेर्पाले बताए । ‘फ्लड लाइटसहित स्कोर बोर्ड राख्न करिब १४ करोड बढी लाग्छ । परिषद्ले ७ करोड मात्र छुट्याएको छ,’ उनले भने, ‘रकम अपुग हुन्छ ।’
फिफा मापदण्डअनुसार अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन फ्लड लाइटसहित दक्षिण र उत्तरतर्फ स्कोर बोर्डको समेत आवश्यक मानिन्छ । लाइट राख्नमात्रै करिब १४ करोडसम्म लाग्ने अनुमान गरिएको छ । हाल फुटबल मैदानको भिआइपीतर्फको प्यारापिट तथा बहुउदेश्यीय हलमा छानो हाल्ने काम भइरहेको छ ।
२०४० सालमा निमार्ण गरिएको फुटबल मैदानको प्यारापिट २०७२ साल बैशाख १२ र २९ गते गएको भुकम्पका कारण जीर्ण भएको थियो । परिषद्ले १ अर्ब २८ करोड रुपैयाँमा पुनर्निमार्ण सुरु गरेको हो । पुनर्निमाणाधीन फुटबल मैदानको अहिले स्वरुप नै परिवर्तन भएको छ । पहिलो चरणको पुनर्निमाण काम सकिएपछि दोस्रो चरणमा २० हजार दर्शक क्षमताको प्यारापिट बनाउने उद्धेश्य राखिएको थियो ।
तर, दोस्रो चरणको काम भने बजेट अभावका कारण सुरु हुन सकेको छैन । फिफा मापदण्डअनुसार फुटबल मैदान बनाए पोखरामा अन्तर्राष्ट्रियस्तरका धेरै खेल हुने एन्फा अध्यक्ष शेर्पा बताउँछन् । निमार्णधीन रंगशालामा एक वर्ष अघि १३ औं साग महिला फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । रंगशाला निमार्ण हुँदै गर्दा नेपाली राष्ट्रिय यु १८ र सिनियर टोलीले पहिलो पटक बन्द प्रशिक्षणसमेत गरको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->