बागलुङ, ३१ जेठ -भैन्डाँडा आधारभूत विधालय सिगानाका प्रधानाध्यापक रामेन्द्र खड्कालाई विनाशर्त रिहा गर्न नेपाल शिक्षक महासंघ बागलुङले माग गरेको छ । निर्दोष शिक्षकलाई साइबर अपराधको नाममा प्रहरीले घरवाटै पक्राउ गरी काठमाडौं पठाएकोले उनको विनाशर्त तुरुन्त रिहा गर्न महासंघका अध्यक्ष कृष्ण प्रसाद आचार्यद्धारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ । संगठनका जिल्ला समन्वय समितिका पूर्व सदस्य समेत रहेका प्रअ खड्कालाई जिल्ला प्रशासनबाट खटिएको प्रहरीले २७ जेठमा घरबाटै पक्राउ गरिएको थियो ।
सामाजिक सञ्जालमा प्रचार गरिएको भनिएको सामाग्री शिक्षक खड्काले आफै निर्माण गरिएको नभई सामाजिक सञ्जाल टिकटीक हेर्नेक्रममा भेटिएको र भुलवस स्टोरीमा अपलोड भएकोमा तुरुन्तै हटाइएको भन्दै अध्यक्ष आचार्यले साधारण शिक्षकलाई त्यसैको आरोपमा पक्राउ गर्नु आपत्तिजनक भएको वताएका छन् । टिकटक चलाउदाँ चलाउदै फेला परेको स्टोरी आफ्नो स्टोरीमा अपलोड भएको थाहा पाउँदासाथ आफुले तुरुन्तै हटाएको शिक्षक खड्काले वताएका छन् । उनलाई साइवर क्राइम अन्तरगत मुद्धा चलाउने गरी पक्राउ गरेर काठमाडौं पठाइएकोमा विभिन्न शिक्षक संघ,संस्था र संगठनले विरोध गर्दै आइरहेका छन् । खड्कालाई राजनैतिक प्रतिशोध साध्नका लागि पक्राउ गरिएको आरोप उनीहरुको छ ।






