शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङमा बाढी: राहत लिएर गएका मुख्यमन्त्री उतै रोकिए

मनाङमा बाढी: राहत लिएर गएका मुख्यमन्त्री उतै रोकिए

अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर उड्ने अवस्था नरहेपछि शुक्रबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री हड्बडाउन पुगे ।


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७८, शुक्रबार
राहत पु¥याएर पोखरा फर्किने क्रममा मौसममा खराबी आएपछि मुख्यमन्त्रीको टोली मनाङमै अड्किएको छ । तस्वीर सौजन्य: प्रकाश ढकाल

पोखरा, ४ असार – नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाल नेतृत्वको सरकारले गण्डकीका ९ जिल्लामा सम्भावित् विपद् व्यवस्थापनको लागि ५/५ लाख रुपैयाँ विनियोजन गरे । मनाङ र मुस्ताङमा बाढीपहिरोले कम क्षति पु¥याउने आँकलनसहित २÷२ लाख रुपैयाँमात्रै छुट्याइयो । तर, बर्खा सुरु भएसँगै सबैभन्दा ठूलो विपद् मनाङमा आइप¥यो ।
करिब १ हजार जनाभन्दा बढी विस्थापित भए । चामे, नासो र ङिस्याङ सबैभन्दा बढी प्रभावित बने । सदरमुकाम चामेका धेरे घरहरु भत्किए । बाढीले चामे नै असुरक्षित बन्न पुग्यो । स्थिति उस्तै छ । बाढीले तहसनहस बनाएको मनाङमा बिहीबार बिहानबाट मात्रै उद्धारको काम सम्भव भयो । मौसम सुधार भएसँगै नेपाली सेनाको हेलिकोप्टरले बाढी र पहिरोमा फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार ग¥यो ।
प्रमुख जिल्ला अधिकारी विष्णुल लामिछानेका अनुसार मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सिरानतालका नागरिकलाई हेलिकप्टरमार्फत् तालडाँडामा लगेर राखिएको छ भने थोंचे गुम्बाका नागरिकलाई सदरमुकाम चामे लगिएको छ ।
गत सोमबारदेखि परेको अविरल वर्षाले मनाङको चामे, तालगाउँ, धारापानीलगायतका ठाउँमा घरहरु बगाउनुका साथै डुबानमा परेका छन् । चामे र तिमाङका जलविद्युत आयोजना, एउटा बेलिब्रिज, ३ वटा काठे पुललगायतका संरचना बगाएको छ भने ५३ वटा घर क्षतिग्रस्त भएका छन् । बाढीपहिरोका कारण बेसीसहर–चामे सडक पूर्णरुपमा ठप्प छ । बाटोमा गएको पहिरोले एउटा गाउँबाट अर्को गाउँ जान सक्ने अवस्था नभएको स्थानीयले बताएका छन् ।
यार्सा टिप्न हिँडेकाहरु ५ हजार मिटरमा अलपत्र
मनाङको उपल्लो क्षेत्र फुमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका सिडिओ विष्णु लामिछानेले जानकारी दिए ।
जिल्लाको ठाउँठाउँमा पहिरो गएका कारण उनीहरु उतै रोकिएका हुन् । सिडिओ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी दिए । उनीहरु त्यहाँ यार्सागुम्बा टिप्न गएका थिए । ‘अस्तिदेखि निरन्तर पानी परिरहेको छ । आज रेस्क्यू गर्ने कुरा थियो । तर, मौसम नै खुलेन,’ सिडिओ लामिछानेले भने, ‘मौसम खुल्यो भने भोलि पहिलो चरणमै उहाँहरुको रेस्क्यू गर्ने योजना छ ।’
सिडिओ लामिछानेले फुजस्तै मनाङका ओडार, ताल्चै गाउँमा पनि उद्धार गर्न बाँकी रहेको जानकारी दिए । ओडारमा अलपत्र परेकाहरु जंगलमा बस्नु भएको छ । उहाँहरुलाई दिउँसो उद्धार गर्ने भनेका पनि थियौं । तर, मौसम खराबीले गएको हेली पनि फर्किनुप¥यो,’ उनले भने ।
मौसममा सुधार आएपछि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, दीपक मनाङेको नामबाट चिनिने राजीव गुरुङ र सांसद चिन्तबहादुर घलेसहितको टोली बिहीबार दिउसो मनाङ पुग्यो । नेपाली सेनाको हेलिकोप्टरमा ‘राहतको पोको’ बोकेर मनाङ पुगेका मुख्यमन्त्रीले स्थानीय प्रशासनलाई युद्धस्तरमा उद्धारमा लाग्न निर्देशन दिए ।
टोलीले बाढीपहिरोग्रस्त क्षेत्रको अवलोकन पनि ग¥यो । बिहीबार नै पोखरा फर्कने योजनासहित त्यहाँ पुगेको टोली मौसममा सुधार नआएपछि एकाएक रोकिन बाध्य बन्यो । अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर उड्ने अवस्था नरहेपछि शुक्रबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री हड्बडाउन पुगे । संसदमा विश्वासको मत प्रस्ताव मुख्यमन्त्रीले नै पेश गर्नुपर्ने प्रावधानका कारण उनी हड्बडाएका हुन् ।
उद्धारको लागि गएको नेपाली सेनाको हेलिकोप्टरले मुख्यमन्त्रीसहितको टोलीको फिर्ती उडान गरेन । झण्डै चामेमै रोकिने अवस्थामा रहेको मुख्यमन्त्रीसहितको टोली साँझ अबेर मौषम सुधार भएसँगै सेनाको हेलिकोप्टरमार्फत् पोखरा फर्कन खोज्यो । बाढीपहिरो पीडित १२ जनालाई त्यही हेलिकोप्टरमार्फत् पोखरा ल्याउने प्रयासमा मौसम बाधक बन्यो ।
गर्भवती, बालबालिका र दीर्घरोगीहरुसहितको टोली चामेमै मुख्यमन्त्रीसँगै रहेका पत्रकार प्रकाश ढकालले जानकारी दिएका छन् । ‘मौसम सुधार आएपछि पोखरा फर्किन लागेका थियौं,’ उनले भने, ‘तर, मौसममा खराबी आएका कारण फेरि चामेमै फर्कियौं ।’ मौसममा खराबीका कारण उद्धारका लागि गएको हेली पनि काम गर्न नपाएको उनले बताए ।
के हुन्छ विश्वासको मत ?
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली शुक्रबार विश्वासको मत लिँदैछन् । जेठ २९ गते संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका नेपालीले सदनबाट विश्वासको मत लिन बुधबार संसद सचिवालयमा जानकारी दिएका थिए । शुक्रबार विश्वासको मत लिनुपर्ने मुख्यमन्त्री मनाङमै रोकिएपछि विश्वासको मत के हुन्छ भन्ने चर्चा चलेको छ ।
विश्वास मतका लागि मुख्यमन्त्री आफैंले प्रस्ताव प्रस्तुत गर्नुपर्ने हुन्छ । प्रदेश सरकारका प्रवक्ता कुमार खड्का भने मुख्यमन्त्री विश्वासको मत लिन जसरी पनि समयमै उपस्थित हुने र आउन नसकेको खण्डमा अर्को दिनका लागि कार्यसूची तयार पारिने बताए ।
‘मौसममा सुधार भएको उहाँहरु शुक्रबार बिहानै आउनुृहुन्छ र संसदको कारवाही अगाडि बढ्छ,’ प्रवक्ता खड्काले भने, ‘आउन नसक्नुभएमा अर्को दिनको कार्यसूचीमा राखिने छ । यसबारे संसद सचिवालयमा कुरा भइसकेको छ ।’
गण्डकी प्रदेश सभा सचिवालय सचिव हरिराज पोखरेलले मुख्यमन्त्री विश्वासको मतका लागि जसरी पनि उपस्थित हुनुपर्ने बताए । उनले मौसम नखुलेका कारण ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि अहिले नै आफूले केही भन्न नसक्ने सुनाए । ‘उहाँ आउनुपर्छ । आउन सक्नु भएन भने अर्को प्रक्रिया होला ! अहिले नै ठ्याक्कै यही भन्न सकिँदैन,’ उनले भने ।
प्रदेश विपद् कोषमा ५ करोड
यसअघि बिहीबार बिहानै प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले जानकारी गराएका हुन् । प्रदेशका विभिन्न जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम विनियोजन गरिएको हो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि,सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपद्मा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन निर्देशन पनि दिएका थिए । उनले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिएका थिए । प्रदेश सरकारले यसअघि नै विपद् व्यवस्थापनको लागि प्रदेशका ९ जिल्लाका लागि १०÷१० लाख रुपैयाँ तथा मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ पठाइसकेको थियो ।
विवादमा भीआइपीको हेलिकोप्टर यात्रा 
गएको भदौ तेस्रो साता बागलुङको ढोरपाटन क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥यायो । बाढीपहिरोको खबर आएसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर लिएर बागलुङ हानिए ।
तर, मौसमले साथ दिएन । थापा त्यत्तिकैमा रोकिएनन् । उनी भोलिपल्ट पुनः हेलिकोप्टरमै ढोरपाटन पुगे । बाढीपहिरो गएको क्षेत्रको निरीक्षण गरे । सँगै लगिएका राहतका पोकाहरु पीडितलाई बाँडे र फर्किए । सुटेडबुटेड गृहमन्त्री जिल्ला आउने भएपछि सुरक्षा निकायहरुलाई भ्याइनभ्याइ भयो ।
उद्धार र राहतमा खटिने जनशक्तिगृहमन्त्रीको व्यवस्थापनमा खटिनुप¥यो । बाढीपहिरोबाट पीडित भएकाहरुलाई हतार–हतार गृहमन्त्री भएको ठाउँसम्म ल्याएर ‘कर्मकाण्डी’ राहत वितरण गरियो । गृहमन्त्रीले पीडितको घर बनाइने आश्वासन दिए । तर, वर्षदिन बितेपनि पीडितहरुले घर पाएका छैनन् ।
वादल मात्रै हैनन्, बाढीपहिरो र प्राकृतिक विपत्तिको घडीमा हेलिकोप्टरबाट निरीक्षणमा जानेहरुको पंक्ति ठूलो छ । हेलिकोप्टरमा निरीक्षणमा निस्कँदा सरकारी ढुकुटी खर्च हुन्छ । हेलिकोप्टर भाडामा मात्रै लाखौं खर्च हुन्छ ।
अर्कोतर्फ, विपत्को बेला भीआइपीहरु जिल्ला जाँदा सम्पूर्ण सुरक्षा र प्रशासनिक निकाय भीआइपीसँगै बस्नुपर्ने बाध्यता हुन्छ । यसले राहत र उद्धारमा असर पु¥याएको हुन्छ ।
विपद्को बेला हुने हेलिकोप्टर यात्राको आलोचन भएपनि नेताहरुले यो प्रवृत्ति छाड्न सकेका छैनन । र, यसको पछिल्लो उदाहरण गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बनेका छन् । बिहीबार बाढीपहिरोले क्षति पु¥याएको मनाङ हिँडे । प्रदेश मुख्यमन्त्रीको रुपमा जनताको घाउमा मल्हम लगाउनु उनको दायित्व हो । तर, यो दायित्व मनाङ नपुरेरै पनि निभाउन सकिन्थ्यो ।
यहीँबाट दिएको निर्देशनले उद्धार प्रभावकारी बनाउनेतर्फ उनको ध्यान गएन । मनाङबाट बिहीबार नै फर्कनुपर्ने बाध्यतामा रहेका मुख्यमन्त्रीको लागि अर्को हेलिकोप्टर नै मगाउनुप¥यो । यो राज्यकोषमाथि थप व्ययभार नै थियो । हेलिकोप्टर चढ्ने पैसाले पीडितलाई थप राहत दिन सकिन्थ्यो भन्नेतिर मुख्यमन्त्रीको ध्यान गएन ।
स्थानीय निकायका जनप्रतिनिधि परिचालनबाटै उद्धार र राहत प्रभावकारी हुन्छ भन्ने उनले बिर्सिए । निरीक्षणको नाममा हेलिकोप्टर चढ्ने प्रवृत्ति निरुत्साहित गर्न सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा बाढी प्रभावित क्षेत्रमा जाँदा हेलिकोप्टर चढ्न नपाइने निर्णय नै गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->