तनहुँ, १० असार– बिहीबार बोलाईएको शुक्लागण्डकी नगरपालिकाको नवौं नगरसभा शोक प्रस्ताव पारित गर्दै स्थागित भएको छ । शुक्लागण्डकी–६ का वडा सदस्य श्रीबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै नगरसभा स्थागित भएको हो ।
थापाको निधनमा नगरसभामा एक मिनेट मौन धारण समेत गरियो । नगरसभा सदस्य बुधबार ६५ बर्षको उमेरमा निधन भएको थियो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । १५ दिनअघि कोरोना पोजेटिभ भएपछि जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा उपचार भईरहेको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई पोखरा रिफर गरियो । पछिल्लो समय कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्यमा सुधार हुन सकेन । बुधबार नै शुक्लागण्डकीको दोभान घाटमा अन्त्येष्टि गरिएको छ ।
नगरसभाको अर्को मिती भने तोकिएको छैन् । बिहीबार आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुतीकरण गर्ने तय भएको थियो । यद्यपि नीति, कार्यक्रम तथा बजेट वाचन नगरेतापनि उपस्थित नगरसभा सदस्यलाई भने उपलब्ध गराईएको छ ।
निती, कार्यक्रम तथा बजेटको अध्यन गरी सुझाव दिन नगरप्रमुख किसान गुरुङले नगरसभा सदस्य समक्ष आग्रह गरे । ‘संवैधानिक व्यवस्था अनुसार निती, कार्यक्रम तथा बजेट कार्यक्रम प्रस्तुत गर्ने तयारीमा थियौँ । नगरसभा सदस्यको मृत्यु भएकाले आजलाई स्थगित गरेका छौ । अब अर्को मिती तोकेर निती, कार्यक्रम तथा बजेट उफर छलफल थाल्नेछौँ, उनले भने ।





