आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त


  • ढोरपाटन सम्वाददाता
  • असार १० २०७८, बिहिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिएका प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
त्यस्तै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।
गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो । संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यमा हरि पौडेल, सुमित्रा श्रेष्ठ, लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी, सदस्यहरुमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकुमारी, निर्वाचन आयोगको सदस्यमा सगुनशम्शेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिनराज निरौला, राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे, सावित्राकुमारी शर्मा, सुन्दर पुर्कोटी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेना, सदस्यमा पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्री, आदिवासी जनजाति आयोगको सदस्यमा सुर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा आभाकुमारी, थारु आयोगको सदस्यमा माशंकर प्रसाद चौधरी, शान्ति मोदी, मुस्लिम आयोगको सदस्यमा मोहम्मद समशुल हक नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->