(१)
”भैसी नै खानु होस भनेका छैनौ । चल्ने र नचल्ने भन्ने भात हो । त्यसैले खसिको मासु र भातको भोज गरौ । झण्डाको ताराको अर्थ ‘समनता’ भन्नु हुन्छ । तपाईं हामी सँगै यो कामी डाँडाको चउरमा सहभोज गरौ । यसो भए हामी सबैको भोट तपाईंलाई पक्का !” छबेले भने । यो सुनेर नेता शर्मा सुरुमा केहि आत्तिए । उनले यसो सोचेर भने – हुन्छ, किन नहुने ? साह्रै राम्रो प्रस्ताव आयो । पाका मानिसका कुरै पाका । जति घेरै मानिस भयो त्यति नै रमाइलो हुन्छ र संदेश पनि राम्रो जान्छ । म हिजो डाँडाखर्क दर्जी गाउँमा गएको थिए । तिनीहरुले पनि त्यहि चउरमा सहभोज गर्ने प्रस्ताव गरेका थिए । कुरा मिल्यो । पर्सि नै गरौं । त्यहाँ बीस पच्चीस जना जम्मा भएका थिए । ती मध्ये एक जना वृध्दले लौराले छबेलाई पछाडिबाट घोचे । छबे पछाडि फर्केर हेर्दा ती वृध्दले एउटा आँखा झिमिक्क झिम्काए। त्यसपछि छबेले भने – हजुरले सहभोज गर्न मान्नु भो, हामीहरुलाई खाए जस्तै भयो । बरु हाम्रोलाई एउटा पन्ध्र धार्नीको जति बंगुरको व्यवस्था गर्नु होस । हाम्रो एक सय भोटले तपाईंको दुई सय भोट गुमाइ दिन पनि भएन नि कि कसो ?
जनजाति तुलसी र दलित सिंगे सामाजिक विज्ञानका विद्यार्थी थिए । स्नातकोत्तर तहको एक सय पूर्णाङ्कको शोधकार्यको लागि ”सामाजिक न्याय” सम्बन्धी शिर्षकका प्रस्तावहरु दुबै जनाले समर्थन गराएका थिए । उदेश्यमूलक रुपमा सबै जाती बसोबास गर्ने त्यो गाउँ र त्यहि गाउँसंग नजिक पर्ने खोला पारिको बजारलाई अनुसन्धानको कार्य क्षेत्र छनौट गरेका थिए। तिनीहरु त्यसैको सिलसिलामा त्याहाँ पुगेका थिए । नेता शर्मालाई आउँदो हप्ता हुने चुनावमा उम्मेदवारको लागि पाटीले टिकट दिएको थियो । तुलसि र सिंगेले सहभोज बारेको यो छलफल गाउँ प्रवेश गर्ने बित्तिकै देख्ने सुन्ने मौका पाएका थिए । किन सहभोजका प्रस्तावक नै पछि नगर्ने मुडमा गए ? दुबै शोधार्थी यस बारे तर्क वितर्क गर्दै अगाडी बढेका थिए ।
(२)
तिनीहरुले गाउँ पार गर्नै लाग्दा एउटा चौपारी देखियो । त्यो चौपारीदेखि केहि तलको घरमा बाजा बजिरहेको थियो । बाजा बजाउनेले जनजातिको पोशाक लगाएको देख्दा तिनीहरु छक्क परि हेरे । चौपारीको एक छेउमा चार जना पाका व्यक्तिहरु हाँस्दै लगाएको टिका पुछिरहेका थिए । ती मध्ये एक जनाले भनिरहेका थिए – नराम्रेरी झुक्काए नि ! जात फाल्नु गहतको झोलमा भनेको यहि होला । अर्कोले थपे – हातमा लिएको बिटोमा तल माथि मात्र एउटा एउटा हजारको नोठ रहेछ । टिका लगाउदै बीचको दशको नोठ थुत्दै दिदा रहेछन् । तेस्रोले भने – मैले त थाहा पाएको थिए । लाइनमा उभिए पछि भाग्नु भएन । चौथोले पनि हाँस्दै भने – हाम्ले मात्र कति सधै नमस्ते गर्ने, यिनीहरुलाई पनि गराउनु प-यो भनेर होला । नोठ समाते पछि हात जोर्नै प-यो । एक हजार दक्षिणा पाउने आसाले वाहुन क्षेत्रीले पनि टिका थाप्न चाहेका रहेछन् । पछि दश रुपैयाँ मात्र हात पर्दा अक्क न बक्क परेका रहेछन् । टिको लगाएर घर जादा जिस्काउँने ठानि त्यसो गरेका रहेछन् । टिका र हाँसोको रहस्य बुझेपछि तुलसि र सिंगे पनि हाँस्दै त्याहाँबाट हिडे ।
(३)
तिनीहरु बजार क्षेत्र प्रवेश गरे । पाँच सात घरहरु पार गर्दै गर्दा एउटा किनारा पसलमा एक जना महिला र पसलेबीच छलफल भईरहेको सुने । छलफलको विषयवस्तु आफ्नो अनुकुलको लागेकाले नजिकै गएर पसलेले थाहा नपाउने तरिकले सुने । पसले भनिरहेका थिए – के तपाईं एक्लै कोठामा बस्ने हो ? यो सम्भव मैले देख्दिन । यो सुनेर महिला एक्कासि कराइन् – दलित भनेर कोठा नदिने भनेका । म मिडियामा जान्छु । जातीय भेदभाव गरेकोमा मुध्दा दिन्छु —-। पसलेले सम्झाए – दलित भन्ने बारे तण्डुकार पासालाई पहिल्यै थाहा थियो । कोठामा एक वर्ष भयो कोहि बसेका छैनन् । एक हप्ताभन्दा वढी कोहि टिकदैनन् । महिलाले सोधिन् – के वुढा किचकिचे छन् ? पानी छैन ? छोरो बदमाश छ? पाहुना आउन दिदैनन् ? —-। तपाईंले भनेको कुनै पनि होइन । सब कुरा राम्रो छ । तर —।
के हो त खुलस्त भन्नुहोस् । महिला कडकिन् । पसलेले स्यानो स्वरमा महिला नजिक गएर भने – यो घर तण्डुकार पासाले सस्तोमा किनेका हुन् । तर के भनौ । के तर तर भनिरहनु हुन्छ । महिला रिसाउदै भनिन् । त्यसपछि उनले अझै सानो स्वरले भन्दै गए – यो कोठामा एक जना झुण्डिएर मरेको थियो रे । एउटा बहर डामेर छोडनु पर्ने हो । त्यो काम गरेनछन् । रातिको बाह्र बजेबाट एक बजेसम्म बचाओ ! बचाओ ! भन्ने आवाज सुनिन्छ रे। मृत आत्म ख्याक भएर कोठामा भडकि रहेको छ रे । यो कुरा तण्डुकारलाई नभन्नु होला नि मार्दछ । यो सुनेपछि ती महिलाले कालो मुख बनाउदै भनिन् – त्यसो हो भने त बैना फिर्ता लिएर अन्त जान्छु । पसलेले भने – फिर्ता दिए त राम्रै भयो | तर नेवार र बाहुनको हातमा परेको पैसा फिर्ता हुन गाह्रो छ । माग्नु त प-यो । महिला तातेको मुडमा त्यहाँबाट हिडिन् ।
पसले र महिलाबीच भएको कुरा रहस्यमय लागेकाले तुलसिले पसलेलाई भने – हामी बाहुन क्षत्रि हौं | यता कतै एउटा कोठा भाडामा पाइन्छ होला । पसलेले भने – पाइन्छ । अघि भनेकै कोठा छ नि । त्यो कोठाको बारे त डरलाग्दो कुरा गर्नु भएको थियो त । पसलेले भने – उनले बैनो गर्दा जातै सोधेका रहेनछन् । थाहा पाएपछि हामीले सल्लाहै गरेर तर्काउन त्यसो भनिएको हो । ‘ल भोली सल्लाहा गरौला’ सिंगेले भने । सिंगेले पसलेसंग आफुहरुले गरेको सबै कुरा मोबाइलमा रेकर्ड गरेका रहेछन् । यो थाहा पाएपछि पसलेको चेहरा पहेलो भएको प्रष्ट देख्न सकिन्थ्यो । एक घण्टाको अन्तरालमा तीनवटा घटनाहरु देख्न सुन्न पाएकोले सोध्नको लागि तयार पारेको प्रश्नावली तिनीहरुले झोलाबाट निकालेनन् । त्यसपछि तिनीहरु के गर्ने दोघारे मनस्थितिमा ट्वाल्ल पर्दै एक अर्कोलाई हेराहेर गरिरहे ।





