पोखरा, १२ असार– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् ।
नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याउने प्रयास भैरहेको बताएका छन् ।
एमालेभित्र मूलतः २०७५ जेठ २ मा फर्केर पार्टी गतिविधि सञ्चालन गर्ने, सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउने माग दावीमा पेश गरिएको एमाले नेताहरुको हस्ताक्षर फिर्ता गर्ने र माओवादी केन्द्र परित्याग गरी एमालेमा फर्केका नेताहरुको उचित व्यवस्थापनको मुद्दामाथि केन्द्रित भएर छलफल भइरहेको नेताहरुको भनाइ रहेकोक छ ।
यी तीन विषयको सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल जारी छ । तर सहमतिको बिन्दुमा पुग्ने विकल्प अझै फेला नपरेको नेताहरुको बुझाइ रहेको छ । आन्तरिक विवाद मिलाउन संयोजनकारी भूमिकामा सक्रिय स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सहमतिको प्रयास सकारात्मक ढङ्गले भइरहेकाले सर्वोच्चको फैसलाअघि नै केही न केही निचोडमा पुगिने विश्वास व्यक्त गरे ।
सहमतिको प्रयासमा निरन्तर सहभागी रहेका नेता नेपाल पक्षका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्यले पार्टी जोगाए मात्र एमालेजन र देशको हित जोगिने बताए । काम गर्ने क्रममा अनेक मानवीय कमजोरी हुने तर त्यसैलाई कारण बनाएर पार्टी नै भत्काउनेसम्मको कदम उचित नभएको उनले बताए ।





