बागलुङ, ३० असार– सामुदायिक विद्यालयमा आर्कषण गर्दै गुणस्तर सुधार्न गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीको महेन्द्र माबिले कम्युटर शिक्षा, विद्युतीय पुस्तकालय र आधुनिक विज्ञान प्रयोगशाला निर्माण गरेको छ ।
विद्यालयको गुणस्तर सुधार्ने अभियानमा नगरपालिकाले समेत साथ दिएको छ । नगरपालिकाले विद्यालयको अभियानमा दुई पटक गरी झण्डै १३ लाख रुपैयाँ लगानी गरेको छ । नगरपालिकाको शैक्षिक सुधार योजनामार्फत विज्ञान प्रयोगशाला र उपकरण खरिदमा उक्त लगानी भएको हो । प्रयोगशालाको फर्निचर निर्माणमा २ लाख ३० हजार, उपकरण खरिदमा ४ लाख २० हजार तथा कम्प्युटर खरिदमा ६ लाख ५० हजार खर्च भएको छ ।
कम्प्युटर खदिर भएपछि कक्षा ६, ७ र ८ लाई अनिवार्य कम्प्युटर शिक्षा दिने व्यवस्था गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीले भने ऐच्छिक विषयको रुपमा पढ्न पाउँछन् । विद्युतीय पुस्तकालयमा ७ हजार पुस्तक समावेश छन् । कम्प्युटरमै बसेर वा डाउनलोड गरेर समेत पढ्न पाउने व्यवस्था छ । ‘स्क्रिनमा रमाउने नयाँ जेनेरेशनलाई सुहाउने गरी विद्युतीय सामग्री राखेका हौं’ प्रअ रेमबहादुर कार्कीले भने । विद्युतीय सामग्रीमा चित्र, आवाज र प्रयोगात्मक अभ्यासका सामग्री भएकोले सिकाइ राम्रो हुने उनले बताए ।
वडा अध्यक्ष हिमबहादुर भण्डारीका अनुसार पहिलो चरणमा महेन्द्र माबिबाट सुरु भएको गु्णस्तर सुधारको कार्यक्रमलाई निरन्तरता दिएर सबै माबि तहमा पुगेको छ । गलकोट नगरभित्रका १३ वटा माबिमा समानुपातिक ढंगले बजेट विनियोजन गरेर आधुनिक पुस्तकालय, बिज्ञान प्रयोगशाला र कम्प्युटर शिक्षा थालिएको हो । ‘यसअघि शिक्षाको बजेट कता जान्थ्यो थाहा भएन, तर जनप्रतिनिधिले छलफल गरेर गुणस्तर सुधार र प्रविधि हस्तान्तणमा खर्च गर्ने व्यवस्था गरिएको हो’ भण्डारीले भने, ‘सानो लगानी गर्दा विद्यालयको उपलब्धी समेत बढ्ने रहेछ ।’
हटियास्थित गलकोट माबिले पनि यस्तै प्रविधियुक्त विद्यालय बनाएको छ । नमूना विद्यालयमा सूचिकृत भएकोले शिक्षा मन्त्रालयको बजेटबाट नयाँ भवन समेत बनाएको हटियामा गुणस्तरमा समेत नमूना बनाउन सकिएको प्रअ देवेन्द्र खत्रीले बताए ।
महेन्द्र माबिमा भने ४५ थान इपाटी समेत छन् । इपाटीमा प्राथमिक तहका बालबालिका पढ्छन् । प्राथमिक तहको सबै शैक्षिक पाठ्यक्रम इपाटीमा समावेश छ । शिक्षा विभागले दशकअघि दिएका ती सामग्रीमा पनि आर्कषक चित्रसहितका सामाग्री भएकोले बिद्यार्थीले रमाएर पढ्ने गरेको कार्कीको भनाई छ ।
विद्यालयले महायज्ञ लगाएर ७ वर्ष अघिदेखि जग्गा र भवनको व्यवस्थापन थालेको थियो । ‘अहिलेका बालबालिकाले प्रविधि युक्त शिक्षा पाएका छन्’ स्थानीय यामबहादुर श्रीसले भने, ‘सामुदायिक बिद्यालयमा यत्तिको परिवर्तन भएकोले बालबालिकामा आर्कषण बढेको छ ।’ विद्यालयमा ३ सय ७० विद्यार्थी अध्ययनरत रहेको कार्कीले जानकारी दिए ।
कम्प्युटर शिक्षाका लागि मात्रै बिद्यालयले तीन जना दक्ष शिक्षकको व्यवस्थापन गरेको छ । उनीहरुले गुणस्तर सुधारका लागि हरेक कक्षामा अतिरिक्त पढाइ समेतको व्यवस्था गरेका छन् । आगामी बर्ष भित्र आधारभूत तहका बिद्यालयमा समेत शैक्षिक सुधारका कार्यक्रम सहित उपकरणको व्यवस्थापन गरिने भण्डारीले बताए । प्राथमिक तहको सुधारका लागि भने सरकारी अभियान नै चलिरहेको र नगरपालिकाको शिक्षा शाखाले पनि निरन्तर सिकाइका गतिविधि संचालन गर्दै आएको छ ।
फेन्सी व्यवसायीको स्थापना दिवस
बागलुङ, २९ असार– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले दिप प्रज्वलन गरेर आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बोल्दै समितिका अध्यक्ष रामचन्द्र शर्माले कोरोना भाइरसका कारण व्यवसायीहरु धराशयी बन्दै गएको भन्दै बन्द अवधिको भाडामा छुट गरिदिन आग्रह गरेका थिए ।
शर्माको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दलबहादुर कार्की र संचालन सचिव प्रेमलाल गौतमले गरेका थिए । सो अवसरमा समितिका संस्थापक अध्यक्ष हरिलाल सुवेदी लगायतले बोलेका थिए ।
दिवसको अवसर पारेर समितिको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर फेन्सी व्यवसायीलाई कोरोना भाइरसविरुद्वको खोपको प्राथमिकतामा राखिदिन अनुरोध समेत गरेको अध्यक्ष शर्माले जानकारी दिए ।





