तनहुँ, ४ साउन– तनहुँको म्याग्दे गाउँपालिकाको कोरोना राहत कोषमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले सहयोग गरेको छ । कोरोना नियन्त्रणमा सघाउन सुर्य नेपालले २० लाख रुपैयाँ राहत कोषमा जम्मा गरेको हो ।
शुक्लागण्डकी नगरपालिका ७ शेरामा रहेको कम्पनीका कारखाना व्यवस्थापक बाबुराम कार्कीले गाउँपालिकाका अध्यक्ष मायादेवी रानालाई उक्त रकमको चेक हस्तानतरण गरे । म्याग्दे गाउँपालिकाका अध्यक्ष रानाले कोरोना नियन्त्रणमा रकम सदुपयोग गर्ने बताईन् । गत बर्षदेखी लगतार कोरोना नियन्त्रणमा खटिएको गाउँपालिकालाई स्रोत र साधनको अभाव भएको उनले जनाइन् ।
सामाजिक उत्तरदायित्व बहन गर्दै गाउँपालिकालाई सहयोग गरेको कारखाना व्यवस्थापक कार्कीको भनाइ छ । यसअघि गाउँपालिकालाई १ थान एम्बुलेन्स सहयोग गरेको उनले जानकारी दिए । सूर्य नेपालले गत वर्ष पनि तनहुँको शुक्लागण्डकी नगरपालिका र गण्डकी प्रदेशको कोरोना राहत कोषमा जम्मा गरिदिएको थियो ।





