बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढुंगा सिंगारेर चिटिक्क पार्क

ढुंगा सिंगारेर चिटिक्क पार्क

डिभिजन वन कार्यालय तनहुँको २० लाख रुपैयाँको लगानीमा बनेको पार्कमा स्थानीयले १० प्रतिशत लागत साझेदारी व्यहोर्दै श्रमदान गरेका छन् ।


  • विनोद ढुंगाना
  • साउन ९ २०७८, शनिबार
भिमाद नगरपालिका–९ मोहोरियामा घाङ्च ल्हुम सिंगारेर बनाइएको पार्क ।

तनहुँ, ९ साउन– ‘घाङ्च ल्हुम’ अर्थात स्थानीय मगर भाषामा अग्लोे ढुंगा । भिमाद नगरपालिका ९ मोहोरिया जंगलमा यस्तै अग्ला ढुंगा छन् । झट्ट हेर्दा आकर्षक र कलात्मक देखिए पनि ती चुच्चे अग्ला ढुंगा, ढुंगामै सिमित थिए । तर, अहिले तिनै ढुंगालाई सिंगारेर चिटिक्कको पार्क बनाइएको छ ।
जंगलमा बेवारिसे ढुंगा सिंगारिएला र चिटिक्कको पार्क बन्ला भन्ने कल्पनासमेत नभएको स्थानीय बाबुराम राना बताउँछन् । वडा सदस्यसमेत रहेका राना भन्छन्, ‘जंगलको बीचमा थियो । परार साल जंगल फाँडेर देखिने बनायौं । अहिले पार्क बनेको छ । यस्तो राम्रो पार्क बन्ला भनेर कसैले चिताएका थिएनौं ।’
यहाँ पार्क बन्नुको श्रेय गाउँलेले गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङलाई दिन्छन् । गुरुङकै वडामा पर्छ मोहोरियाको घाङ्च ल्हुम । कार्यक्रममा सहभागी हुन आउदाँको बखत यो ढुंगा देखे । ढुंगालाई सिंगार्दा पर्यटकिय गन्तव्य बन्ने लक्षण देखेपछि उनले पहलकदमी थाले ।
गण्डकी प्रदेश सरकार मातहातको डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्षको बजेटबाट पार्क बनाएको हो । २० लाख रुपैयाँको लगानीमा पार्क बनाएको कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । स्थानीयले १० प्रतिशत लागत साझेदारी व्यहोर्दै श्रमदान गरेका छन् ।
उनका अनुसार पार्कमा चराको गुँड बनाइएको छ । ढुंगाको खोपिल्टोमा चराचुरुंगीले पानी पिउन मिल्ने गरी सानो पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना निर्माण गरिएको छ । घाङ्च ल्हुम आसपास ढुंगाले चिनेर चिटिक्क पारिएको छ । पैदल मार्ग बनाइएको छ । चराचुरुंगी आकर्षित गर्न चेरीको विरुवा रोपिएको छ ।
अग्ला चुच्चे ढुंगालाई सिंगारेर बनाईएको पार्कले पर्यटकलाई लोभ्याउने छनक देखाएको छ । ‘प्राकृतिक हिसाबले ढुंगा आफँैमा आर्कषक थियो । यसैलाई व्यवस्थित गर्दै चरालाई आकर्षित गर्ने गरी पार्क बनाएका छौँ’, काफ्लेले भने ।
पार्कलाई सही उपयोग गर्ने सके स्थानीयको आयआर्जनको स्रोत बन्न सक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘त्यहाँको बस्ती पिछडिएको छ । पहिले त स्थानीय उत्पादन बढाउन आवश्यक छ । पार्कलाई पर्यटनको गन्तव्य बनाउने र आउने पर्यटकलाई स्थानीय उत्पादन बेच्ने वातावरण बनेमा रोजगारीसँगै आर्थिक आत्मनिर्भर बन्न सघाउँछ ।’ पार्कको अवधारणालाई मूर्त रुप दिन स्थानीय सरकारले लगानी गर्नुपर्ने उनले बताए ।
गुफामा नछिरेरै चमेरा अवलोकन !
यही वडामा रहेको चमेरो गुफामा चमेरो संरक्षणका लागि डिभिजन वन कार्यालयले चमेरो अवलोकन बिन्दु बनाएको छ । चमेरो हेर्नलाई गुफाभित्र पस्ने प्रवृत्तिले प्रभाव पारेको थियो । ‘चमेरो लोप हुन नदिनलाई गुफाभित्रै पस्न नमिल्ने तर, अवालोकन गर्न मिल्नेगरी संरचना बनाइएको छ’, वन कार्यालयका प्रमुख काफ्लेले भने ।
चमेरो गुफाबाट मोहोरियाको घाङ्च ल्हुम जोड्नलाई रेलिङ सहितको सिँढी बनाइएको छ । गतबर्ष विनियोजित २० लाख रुपैयाँ बजेटले ४ सय मिटर रेलिङ सहितको सिँढी र चमेरो अवलोकन विन्दु निर्माण भएको हो ।
प्रसिद्ध ४ तले धन्धुर सिद्ध गुफासंगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म पदमार्ग बनाउन थालेको वडाध्यक्ष ईमानबहादुर थापाले बताए । निकट भविष्यमा सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको भ्युटावर, इलुङ झरना हुदै पाथर्दी सामुदायिक होमस्टेलाई जोडेर फूलको बगानसहितको पदमार्ग बनाउने योजना रहेको उनले जानकारी दिए ।
‘एक दिने पदयात्रा गर्न यी गन्तव्य उपयुक्त छन्’, उनले भने, ‘पूर्वाधार थप र प्रबद्र्धनमा अब हाम्रो ध्यान हुनेछ ।’ पाथर्दी गाउँ बोयर बाख्राको पकेट क्षेत्र हो । वडाबासीको जीवनस्तर पर्यटन, कृषि र पशुपालनबाट उकास्ने ध्येयमा रहको वडाध्यक्ष थापाले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->