बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खैरेनीटार–भिमाद सडक : कालोपत्रे सडक छिचोल्नै मुस्किल

खैरेनीटार–भिमाद सडक : कालोपत्रे सडक छिचोल्नै मुस्किल

कालोपत्रे उप्किएर बनेको खाल्डोमा पानी जम्दा पोखरी जस्तै बनेको छ ।


  • विनोद ढुंगाना
  • साउन १६ २०७८, शनिबार

तनहुँ, १७ साउन– खैरेनीटार–भिमाद सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किएर ठुल्ठुला खाल्डा बनेको छ । खाल्डामा बर्खाको पानी जम्दा पोखरी जस्तै देखिन्छ । शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार र म्याग्दे गाउँपालिका–५ थाङ्दीदेखी भिमादको पुलसम्म दुरावस्था छ । कतिपय स्थानमा सडकको कालोपत्रे देख्नै मुस्किल हुन्छ । भिमाद नगरपालिकाको प्रवेशद्धारमा खाल्टाखुल्टी छन् । यो बर्ष उच्च बर्षा हुदाँ झन पहिरोको जोखिम पनि बढेको छ ।
सडक साँघुरो हुदाँ दुर्घटनाको जोखिम पहिल्यैदखी नै थियो । अहिले सडकमा ठुल्ठुला खाल्डा र पहिरोले झनै दुर्घटनाको जोखिम बढाएको छ । कालोपत्रे गरिएको यो सडक खण्ड छिचोल्न सवारी चालक र यात्रुलाई विघ्न सास्ती हुन्छ । ग्रामिण सडकमा भन्दा बढी सास्ती छ ।
‘खाल्डाखुल्डीले बाटो छिचोल्न साह्रै अप्ठ्यारो हुन्छ । पहिला भन्दा धेरै समय लाग्ने भएको छ । गाडीको मर्मत खर्च पनि बढाएको छ यो बाटोले’, भिमाद बजारका गणेश सुवेदीले भने । बर्खा लाएपछि झन पहिरो त्रहीत्रहीमा बाटो काट्नुपरेको उनले बताए । बर्षेनी यो सडक भत्कने समस्या रहेपछि टालटालु बाहेक दिर्घकालीन उपाय नअपनाईने उनको भनाई छ । यो सडकको विकल्प अरु सडक नभएकाले पनि गुणस्तरिय मर्मतमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।
सडकको दुरावस्थाले पानी पर्दा जलमग्न र घाम लाग्दाको बखत बुङबुङ्ती धुलो उड्ने समस्याले सडक आसपासका बासिन्दालाई पनि आजित बनाएको छ । सडकको अवस्थाबारे जानकार भएपनि गाउँपालिकाको क्षेत्राधिकारमा नपर्ने हुदाँ मर्मत गर्न नसकिएको म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिवबहादुर आले बताउँछन् । उनी भन्छन्, ‘सडकको हालत खराब छ । मर्मत गर्न गाउँपालिकाको क्षेत्राधिकारमा पर्दैन् । सडक डिभिजनले हेर्ने सडक हो । मर्मतका लागी टेन्डर भएको सुनेको छु । असारबाट बन्छ भनिएको थियो । कहिले बन्ने हो अत्तोपत्तो छैन् ।’ जनताले सडक कहिले बन्छ भनेर बारम्बार सोध्ने गरेको उनले सुनाए । सडक कहिले मर्मत हुन्छ भन्नेबारे आफु पनि अनविज्ञ रहेको वडाध्यक्ष आलेले बताए ।
खैरेनीटार–भिमाद सडक स्तरोन्नती सहित कालोपत्रेका लागी ठेक्का सम्झौता भईसकेको सडक डिभिजन कार्यालय दमौलीका सुचना अधिकारी ईञ्जिनियर नारायण पौडेलले बताए । उनले भने, ‘बैशाखमा ठेक्का सम्झौता भएको हो । ठेक्का लाग्नेवित्तिकै कोरोनाको बेला भएर काम सुरु भएन् । अहिले बर्खामा कटिङ गरेर सडक चौडा बनाउदा झन् हिलो हुने भएकाले काम सुरु नभएको हो । बर्खा सकिएपछि काम सुरु हुनेछ ।’
खैरेनीटार–भिमाद–भुमरीघाट–कावासोती सडक स्तरोन्नतीका लागी एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौँले ठेक्का पाएको हो । ७ करोड ४५ लाख २१ हजार रुपैयाँमा ठेक्का लगाईएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ । गत बैशाख १३ गते ठेक्का सम्झौता भएकोमा २०७९ कार्तिक १३ गतेसम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।
तनहुँको भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख सडक हो । यही सडक हुदैँ नवलपुर, पाल्पा र स्याङजासम्मका सवारी र यात्रु आवतजावत गर्छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->