बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

आव ०७७/७८ मा तनहुँमा १२ वटा मोटरेबल पुल शिलान्यास भएका थिए । तर, एउटा पुल पनि पूरा बनेका छैनन् । जसमध्ये ६ वटा पुल असारमै सकिनुपर्ने थियो ।


  • विनोद ढुंगाना
  • साउन १७ २०७८, आइतबार
फाइल फोटो

तनहुँ, १८ साउन– बर्खामा सडक सञ्जालबाट सम्पर्कविच्छेद हुने जरेबरका बासिन्दालाई यो बर्खामा पक्की मोटरेबल पुलबाट खोला तर्न पाउने आश थियो । भिमाद नगरपालिका८, थामडाँडा र शुक्लागण्डकी नगरपालिका११, जरेबर जोड्ने गरी बर खोलामा शिलान्यास गरेको पुल गत २२ असारमा सक्नुपर्ने सम्झौता हो ।
मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेञ्चर पोखराले ठेक्का लिएको यो पुलको ४ वटा पिल्लर ठडिनेबाहेक काम भएको छैन। यति बेला खोलामा उर्लेको बर्खे भेलले भइरहेको कामसमेत रोकिएको छ ।
हिउँदमा कुलो जत्रै भएर बग्ने बुडुवा खोला यतिबेला तर्न नसक्ने अवस्थामा छ । यहाँका स्थानीय घाँस दाउरा र मेलामात गर्न बन्दै गरेको अधुरो पुलबाट जोखिम मोलेर तर्न बाध्य छन् । बुडुवा खोला तरेर लोकतान्त्रिक मोटरमार्गमा सवारी गुडाउने चालकलाई पनि दुःख छ ।
वर्षौंदेखि मोटरेवल पुल चाहियो भन्दै आएका स्थानीयको मागलाई सुनवाई गर्दै गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास गरियो । गणेश कुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ ।
पुलको काम सक्न १५ प्रतिशत बढी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए । ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला । बाढी आएर काम रोकियो’, उनले भने । पुल र सडकको बीचमा फिल्डिङ गर्ने काम बाँकी रहेको उनी बताउँछन् ।
ऋषिङ गाउँपालिका४, मधुवन र ५ रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेवल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति कटेको छ । ठेक्का सम्झौता अनुसार गत २५ असारमा यो पुल ठडिएर मोटर गुड्न थाल्नु पर्ने हो । तर, पनि पुल तत्कालै सम्पन्न हुने छनक देखिँदै ।
ज्वाला खोलासहित शालिकराम करिडोरमा मात्र ४ वटा पुल शिलान्यास गरिएको थियो । हालसम्म एउटा पनि सम्पन्न भएको छैन । रिस्ती खोलामा मात्रै दुई पुल शिलान्यास भए । दुवै पुल निर्माणधीन अवस्थामा छ ।
तनहुँमा गत आर्थिक वर्ष २०७७÷७८ मा गण्डकी प्रदेश सरकारको लगानीमा मोटरेबल पुल शिलान्यासको लहर चलेको थियो । जिल्लाका १२ नदी, खोलामा मोटरेबल पुल बनाउन थालिएको हो । तर, एउटा पनि सम्पन्न नभएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । ६ वटा पुल असारमा सकिनुपर्ने थियो । ३ वटा अबको असोजसम्म सम्पन्न गर्ने म्याद छ । बाँकी पुलको म्याद आगामी आर्थिक वर्षसम्म रहेको छ ।
कोरोनाका कारण पुल निर्माणमा ढिलाई भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना बताउँछन् । उनी भन्छन्,‘कोरोना कहरमा निर्माण कम्पनीले काम गर्न खोजेका हुन् । लक्ष्य अुनसार सकेनन् ।’ निर्माणधीन सबै पुलको कार्य प्रगति सन्तोषजनक देखिएको उनले बताए ।
कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार ६ महिना फेरि म्याद थपिने उनले जानकारी दिए । म्याद सकिएका पुल ६ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन दिने उनको भनाइछ ।
गत वर्ष शिलान्यास भएका २ वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ । रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको ढुंगानाले जानकारी दिए ।‘दुबै पुलको ९० प्रतिशत काम भएको छ । अब स्ल्याब राख्ने काम मात्र बाँकी हो’, उनले भने ।
१२ पुललाई २९ करोड १ लाख २९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । यो आर्थिक वर्ष प्रदेश सरकारले ती पुललाई २६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २ सय ४० रुपैयाँमा सम्झौता भएको हो ।
चालु वर्षमा पनि गण्डकी प्रदेश सरकाले तनहुँका १४ मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । १४ पुललाई ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ । बजेट विनियोजन भएपनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि डिपीआर तयार भई स्रोत सुनिश्चितता हुँदाबल्ल पुल निर्माणको काम थालनी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->