तनहुँ/ दमौली बजार क्षेत्रमा १ हप्तादेखी फोहोर उठ्न सकेको छैन् । यहाँका स्थानियले फोहोर चोक–चोकमा फ्याँकेका छन् ।सडक छेउछाउमा फालिएको फोहोरको सानोठुलो थुप्रो जताततै देखिन्छ ।नगरपालिकाले कुहिने र अस्पतालजन्यफोहोर उठाईरहेको छ । तर, नकुहिने फोहोरको थुप्रो बजारका चोक–चोकमा देखिन्छ । हप्ता दिनदेखी नउठेको फोहोरको थुप्रोले बजारलाई कुरुप बनाएको छ ।
नगरबाट संकलित फोहोर फाल्दै आएको व्यास–१ चारकुनेको डम्पिङ साईट भरिएपछि फोहोर उठाउन नसकेकोसरसफाई शाखाका प्रमुख कृष्ण घिमिरेले बताए । ‘चारकुनेको ल्याण्डफिल साईट भरियो । व्यास–१३ को सुँडे नजिकै फोहोर फाल्ने जग्गाको व्यवस्थापन हुदैँछ । पर्सीसम्म बजारका फोहोर उठ्नेछ’, उनले भने । फोहोर मैला फाल्ने जग्गा प्राप्तीको लागी स्थानीयको बिरोध हुने प्रवृतीका कारणसहजै व्यवस्थापन हुन नसक्ने उनको भनाई छ ।
जानकारी बिना एक्कासी फोहोर उठ्न छाडेपछि चोक–चोकमा फोहोर थुप्रिएको सफासडकका कविराज श्रेष्ठले बताए । ‘फोहोर उठ्दैन भन्ने जानकारी पाएको भए नकुहिने फोहोर घरमै हुन्थ्यो । यसरी बजार अव्यवस्थित त हुन्थेन्’, उनले भने ।नगरपालिकाले फोहोर व्यवस्थापनमा दिर्घकादिन तरिकाले सोच्न नभ्याएको उनको भनाई छ । ‘अब फोहोरलाई आम्दानीमा बदल्नेगरी डम्पिङ साईट बनाउनुपर्छ’, उनले थपे, ‘बरु नचाहिने खर्च कम गरेर डम्पिङ साईटमा लगानी गर्नुप¥यो ।’
जिल्लाकै पुरानो नगरपालिका व्यासले फोहोरमैला व्यवस्थापनमा दिर्घकालिन योजना बनाउन नसक्दा सधैँ आलोचित हुनुपरेको छ । गत बर्षसम्म व्यासको फोहोर भतेरीस्थित मादी नदीको किनार डम्पिङ गरिन्थ्यो । मादीले त्यो ठाउँलाई कटान गरेपछि चारकुनेमा व्यक्तिगत जग्गामा फोहोर फ्याँक्ने गरियो ।अहिले त्यहाँ पनि फोहोर फाल्न नमिल्ने अवस्था भएपछि हप्ता दिनमै बजारभरी फोहोरको थुप्रो देखिन्छ ।वडा नम्बर ४ र १० को सिमा पर्ने सामुदायिक वनमा डम्पिङ साईट बनाउनलाईप्रारम्भिक वातावरणीय परिक्षण ‐आईई)गरिसकेको घिमिरेले जानकारी दिए ।
व्यासको बजार क्षेत्रमा पर्ने वडा नम्बर २, ३ र ४ बाट दैनिक आलोपालो गरेर फोहर संकलन हुदै आएको थियो । बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुने नगरपालिकाले जनाएको छ । कुहिने र नकुहिने छुट्टाछुट्टै फोहोर संकलन हुन्छ । कुहिने फोहोरलाई भने व्यास–१० दुम्सिमा व्यवस्थापन गरिन्छ । त्यहाँ छाडा चौपाय संरक्षण केन्द्रको मलमुत्रसंगै र कुहिने फोहोर मिसाएर ग्याँस उत्पादन गर्ने गरेको नगरपालिकाले जनाएको छ ।





