बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

उठ्न थाल्यो दमौलीको फोहोर

उठ्न थाल्यो दमौलीको फोहोर

यसअगाडि फोहोर फालिने व्यास १ चारकुनेको डम्पिङ साइट भरिएपछि हप्ता दिनदेखि उठ्न सकेको थिएन ।


  • ढोरपाटन संबाददाता
  • भाद्र ३ २०७८, बिहिबार

तनहुँ/ दमौली बजार क्षेत्रमा १ हप्तादेखि थुप्रिएको फोहोर उठ्न थालेको छ । व्यास नगरपालिकाले फोहोर फाल्ने ठाउँको व्यवस्थापन गरेपछि बुधबारदेखि चोक–चोकमा थुप्रिएको फोहोर उठाउन थालेको हो ।

व्यास नगरपालिका–१३ कोइदिम जाने बाटोस्थित माथिल्लो बेनीकुण्ड सामुदायिक वन क्षेत्रमा तत्काललाई अस्थायी डम्पिङ साइट बनाएर फोहोर उठाउन सुरु गरेको सरसफाइ शाखाका प्रमुख कृष्ण घिमिरेले बताए । सामुदायिक वन क्षेत्रमा पर्ने खोल्सीको तलपट्टि तारजाली गरेर डम्पिङ साइट बनाएको उनको भनाइ छ । ‘बजारको फोहोर उठाउन थालिसक्यौं । बिहीबारसम्म सबै क्लियर हुन्छ,’ उनले भने ।

यहाँ फोहोर फाल्ने डम्पिङ साइट बनाउन सामुदायिक वन, स्थानीयवासी र वडा कार्यालयसँग सहमति भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । ‘सडक कालोपत्रे गरिदिने लगायतका माग पूरा गर्ने सहमति भएको छ’, उनले भने ।
यसअगाडि फोहोर फालिने व्यास १ चारकुनेको डम्पिङ साइट भरिएपछि हप्ता दिनदेखि उठ्न सकेको थिएन । त्यहाँ व्यक्तिको जग्गालाई डम्पिङ साइट बनाइएको थियो । नकुहिने फोहोरको थुप्रो बजारका चोक–चोकमा छरपष्ट देखिएपनि नगरपालिकाले कुहिने फोहोर भने नियमित पालो अनुसार उठाइरहेको दाबी गरेको छ ।

जानकारी नगराई एक्कासि फोहोर नउठाइएको भन्दै नगरपालिकाको चर्को आलोचना भएको थियो । गत वर्षसम्म व्यासले भतेरीस्थित मादी नदीको किनारमा फोहोर फाल्दै आएको थियो । बर्खामा नदीको कटानले डम्पिङ साइट बगेपछि फोहोर व्यवस्थापन व्यासको टाउको दुखाईको विषय बनेको छ । दीर्घकालीन तरिकाले फोहोर फाल्नलाई व्यासले डम्पिङ साइट बनाउन सकेको छैन ।
व्यास १० र १ को सीमामा पर्ने भद्रुमा डम्पिङ साइट बनाउन आइई गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सिग्देल बताउँछन् । ‘स्थानीयसँग सहमतिको प्रयास गरिरहेका छौं,’ उनले भने । वडा नम्बर ४ बाघभञ्याङलाई पनि विकल्पको रुपमा हेरिएको उनले जानकारी दिए । ‘फोहोरमैला व्यवस्थापनको स्थायी समाधानमा लागिरहेको उनले उल्लेख गरे ।

व्यासको बजार क्षेत्रमा पर्ने २, ३ र ४ नम्बर वडाबाट दैनिक आलोपालो गरेर फोहर उठाईन्छ । बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुने नगरपालिकाले जनाएको छ । कुहिने फोहोरलाई व्यास–१० दुम्सीमा व्यवस्थापन गरिन्छ । सरसफाइ शाखाले दिएको जानकारी अनुुसार त्यहाँ छाडा चौपाय संरक्षण केन्द्रको मलमुत्रसंगै र कुहिने फोहोरलाई मिसाएर ग्यास उत्पादन गरिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->