म्याग्दी /गाउँको शिरानमा छङछङ गर्दै झरेका छहरा र पुछारका कलकल गर्दै बगेको म्याग्दी नदी । बिचमा २ सय ८ घरधुरी भएको विशाल गाउँ । त्यही गाउँका बासिन्दा २ महिनादेखि खानेपानी नपाएर काकाकुल जस्तै बनिरहेका छन् भन्ने सुन्दा तपाइँलाई पत्यार नलाग्न सक्छ । तर,म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पर्ने बगरफाँट गाउँ विगत दुई महिनादेखि खानेपानीको अभावका कारण छट्पटाइरहेको छ ।
म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि विगत दुई महिनादेखि खानेपानीको हाहाकार भएको छ ।
गत असार ७ गते मरुवा,उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको समस्या भएको हो ।
यस विचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी संचालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पु¥याए पछि बगरफाँटका वासिन्दा विगत दुई महिनादेखि खोला र कुवाको पानी पानी वाध्य छन् ।
गाउँमा रहेका २८ वटा धारामा पानी नआए पछि यहाँका वासिन्दाहरु कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका २ बगरफाँटका टेकबहादुर कार्कीलेबताए ।
२१४ घर धुरी रहेको बगरफाँटमा १५ दिनदेखि खानेपानीको समस्या हुँदा समेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका वासिन्दाहरु ठूलो समस्यामा परेका स्थानीयले बताएका छन् ।
२०६९ सालमा बेनी नगरपालिका ३ भकिम्ली र बेनपा २ ज्यामरुककोटको सीमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ वटा धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।
त्यसपछि वर्षेनी बर्खाको समयमा बाढी र पहिरोले पाइपलाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी संचालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहान लगाएत ७ ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत कार्य गर्न नसकिएको बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार अझै केहीदिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत कार्य अघि बढाइने छ ।
खानेपानीको समस्याका कारण बगरफाँटको २१४ घरधुरीका १२ सय भन्दा बढी जनता प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।
गाउँको पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे,उडाइनो,मुलछहरी,कोप्रेझरना लगाएतका पानीका आधा दर्जन बढी श्रोतहरु रहेका भए पनि ती पानीका श्रोतहरुलाई व्यवस्थित गर्न नसक्दा यहाँका वासिन्दाहरुले वर्षौंदेखि खाने पानीको समस्या झेल्दै आएका छन् ।





