बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खोलाको कटानले जोखिममा बस्ती

खोलाको कटानले जोखिममा बस्ती


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७८, मंगलबार

तनहुँ/ क्याङ्दी र वर खोलाको कटानले जरेबरको बस्ती उच्च जोखिममा परेको छ । एक सातादेखि निरन्तर परेको बर्षाका कारण यी २ खोला उर्लिएर जमिन कटान गर्दै बस्तीतर्फ सोझिएपछि स्थानीय त्रसित बनेका छन ।
शुक्लागण्डकी नगरपालिका११ जरेबरवासीले बर्षौंदेखियसरी नै निरन्तर कटानको समस्या झेल्दै आइरहेका छन् । कटान रोक्नलाई बृहत तटबन्धन नहँुदा खोला बस्तीतर्फ आइरहेको स्थानीय सानुमाया महतले बताइन् । उनका अनुसार २ दर्जन घर भएको बस्तीमा १० घर उच्च जोखिममा छन् ।

दुवैतर्फ खोलाले कटान गरेपछि वर खोलामा मोटरेबल पुल निर्माणमा खटिएको कामदार बसेको क्याम्पलाई सारिएको उनले जानकारी दिइन् । कामदार जरेबरको चौरमा क्याम्प बनाएर बसेका थिए । ‘कटानले खाली जमिन सकिँदैछ । खोलाको बहाव घटेको छैन। कतिबेला के हुने हो, त्रासमा छौं,’ महतले भनिन् ।
गत असारमा पनि दुवैतर्फ नदीले कटान गरेको थियो । बस्ती जोगाउन शुक्लागण्डकी नगरपालिकाले ४० थान जाली दिएको थियो । तर, खोलालाई डाइभर्ट गराउन नसक्दा तटबन्धन गर्न नसकेको महतले बताइन । बस्ती जोगाउनलाई बृहत गुरुयोजना बनाएर तटबन्धन गर्नुपर्ने उनको सुझाव छ ।

यस्तै, क्याङ्दी खोलाकै कटानले भिमाद नगरपालिका८ अरौंदीको बस्ती पनि जोखिममा परेको छ । क्याङ्दी खोलाको बहाव बस्तीतर्फ आएपछि जोखिम बढेको हो । कटानकै कारण ४ घर विस्थापित भएको वडाध्यक्ष बुद्धीमान श्रेष्ठले बताए । उनकाअनुसार अरौंदीको बस्तीमा ६५ घरधुरीको बसोबास छ ।
अन्य घरपरिवार तत्कालै विस्थापित हुने अवस्था नरहेपनि पुरै बस्ती जोखिममा परेको श्रेष्ठले जानकारी दिए । ‘असारमा वस्तीतिर नदी सोझिन थालेपछि नगरपालिकाको स्काभेटर लगाएर धार परिवर्तनको काम गरेका थियौं । अहिले फेरिबस्तीतिर खोला सोझिएको छ,’ उनले भने ।

अरौंदीमा क्याङ्दी खोलाले क्याङ्दी मार्गको सडक पुरै बगाएको छ । असारमा कटान भएपछि केही समय ठूला सवारी चल्न सकेनन् । खोलाको धार परिवर्तन गरेपछि सवारी चलेको थियो । अहिले निरन्तर एकसाता परेको अविरल बर्षाले खोला बढेर असारमा सडक कटान गरेकै ठाउँबाट बग्न थालेपछि भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वस्ती पुनः यातायात सञ्जालबाट सम्पर्क विच्छेद भएका छन् । २ पांग्रे मोटरसाइकल स्कुटर भने जोखिम मोलेर गुडेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->