तनहुँ/ तनहुँले प्रशासनले फेरि १० दिन निषेधाज्ञा थपेको छ । सोमबार बसको जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिस अनुसार ३१ भदौसम्म जिल्लामा निषेधाज्ञा थपिएको हो । प्रशासनले अधिकांश क्षेत्र खुल्न दिने निर्णय सहित नाम मात्रको निषेधाज्ञा थप गरेको छ ।
भौतिक रुपमा उपस्थित भएर गरिने सभा सम्मेलन, प्रर्दशन, भेला, जात्रा, महोत्सव सञ्चालन नगर्ने भनिएको छ । तर, कानुन अनुसार गर्नै पर्ने सभा, सम्मेलन, अधिवेशन गर्न जिल्ला कोभिड व्यवस्थापन समितिलाई जानकारी गराएर स्वास्थ्यको मापदण्ड पालना भएमा रोकतोक हुने छैन् । शैक्षिक संस्था पनि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधी २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा स्थानीय तहको निर्णय अनुसार खोल्न पाईनेछ ।
२५ जना भन्दा कम सहभागी गराएर तालिम प्रशिक्षणका कार्यक्रम गर्न पाईने, कुल क्षमताको ५० प्रतिशत बढी नहुने गरी पार्टी प्यालेस खोल्न र राती ९ बजेसम्म होटल रेष्टुरेन्ट खोल्न दिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जारी गरेको आदेशमा उल्लेख छ । आदेशमा उल्लेख भए अनुसार खोल्न अनुमती दिर्ईएका सबै व्यवसाय साँझ ७ बजेसम्म खोल्न पाईनेछ ।
जिल्लामा संक्रमणको जोखिम घट्दो भएकाले निषेधाज्ञा खुकुलो बनाएको प्रजिअ आचार्य बताउँछन् । ‘सक्रिय संक्रमित त बढी नै छन् । संक्रमितको संख्या घट्दो छ । अबको निषेधाज्ञा केही खुकुलो भए जस्तो हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन कम्पराइज हुदैन् । हामी अनुगमनमा जान्छौँ’, उनले भने । थपिएको निषेधाज्ञाको अवधीमा पनि संक्रमतिको संख्या बढेमा कडाई गरिहाल्ने उनको दाबी छ । सधैँ बन्द गरेर मात्र नहुने भएकाले विद्यालय, पार्टी प्यालेस, होटल खोल्न दिएको आचार्यले बताए ।
२२ वैशाखदेखि जिल्लामा निषेधाज्ञा निरन्तर जारी छ । असार लाएपछि निषेधाज्ञा खुकुलो बनाईएको थियो । त्यसपछि निषेधाज्ञा नामको मात्रै थपिने गर्छ । यो साता तिज नजिएकाले जिल्लाका बजार क्षेत्रमा भिडभाड बढेको छ । तिजको किनमेलका लागी भएको भिडमा स्वास्थ्यको मापदण्ड पालना भएको पाईदैन् । मुखमा मास्क लगाउन समेत सर्वसाधरणले अटेरी गर्न थालेका छन् ।
सोमबार तनहुँमा १७ जना कोरोना संक्रमित थपिएका छन् । १० जना महिला र सात पुरुष संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार ९० जनाको पिसीआर र एन्टिजोन विधीबाट कोरोना परिक्षण गरिएको थियो ।
हाल जिल्लामा दुई सय ४० जना सक्रिय संक्रमित रहेका छन् । आठ जना संक्रमित मात्र जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलसनमा उपचारत छन् । बाँकी सबै संक्रमति होम आईसोलेसनमा बसेका छन् । कुल छ हजार छ सय ३६ जनालाई कोरोना पुष्टी भएकोमा छ हजार दुई सय ५७ जना निको भएका छन् । कोरोना संक्रमणका कारण जिल्लाका एक सय ३९ जनाले ज्यान गुमाएको तथ्याङ्क स्वास्थ्य कार्यालय तनहुँसंग छ ।





