बागलुङ/ सोमबार दिउँसो १२ बजेसम्म शुन्य संक्रमित रहेकाले हरियो संकेतमा रहेको बागलुङ नगरपालिका–५ मालिका एकाएक कोरोना संक्रमणको जोखिम वडामा सूचिकृत भयो ।
गाउँभरी बिरामी परेपछि बागलुङ नगरपालिकाले गाउँमै पुगेर गरेको एन्टिजिन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भयो । बाँकी ११ जना संकास्पद बिरामीको पिसीआर परीक्षणका लागि स्वाब संकलन भएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ‘बिबाह भोजमा सहभागि बिरामी हुँदा कोरोना फैलिएको भन्ने प्रमाणित हुन्छ’ खनालले भने ‘असावधानीका कारण हामी जोखिमै छौं, सचेतना अपनाउन सर्वसाधारणले याद गरेनन् ।’
बागलुङमा कोरोना संक्रमणको दर घटेको भन्दै निषेधाज्ञा खुकुलो बनाईएको छ । हरियो संकेत भएका स्थानीय तह धेरै भएपछि जिल्लाभर लगाईएको निषेधाज्ञा खुकुलो भएको हो । स्वास्थ्यका मापदण्ड नअपाउँदा संक्रमणको जोखिम बढ्नेमा सरोकारवाला चिन्तित छन् । मालिकामा सरोकारवालाले उठाएका प्रश्नमा टेवा दिने एउटा उदाहरण मात्रै हो । कोरोनाका लक्षण देखिएका बिरामीले जाँच गर्न मान्ने गरेका कारण संक्रमण पुन फैलिने जोखिम जिल्लामा छ । गाउँको तुलनामा बजारमा संक्रमण लुकाउँदा जोखिम बढिरहेको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. शैलेन्द्र बिक पोखरेल बताउँछन् ।
‘बिरामीमा लक्षण देखिन्छ तर जाँच गर्न मान्नुहुन्न, गाह्रो भएपछि मात्रै जाँच गर्दा रिपोर्ट आउने बेलासम्म बिरामी गम्भिर हुन्छ’ पोखरेल भन्छन् ‘यो समस्या गाउँभन्दा बजार क्षेत्रका बिरामीमा धेरै छ ।’ शंकास्पद बिरामीले जाँच गर्न नमानेकै कारण चोक चोकमा हिँडिरहेका मानिस खोजेर जाँच गर्नुपरेको स्वास्थ्य शाखा प्रमुख खनाल बताउँछन् ।





