पोखरा–साउनको अन्तिम साता भर्खरै प्रतिपक्षी बनेको एमालेले गण्डकीको सार्वजनिक लेखा समितिमा कसलाई पठाउँछ भन्ने ढोरपाटन दैनिकको प्रश्नको उत्तर दिने क्रममा गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा विपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले भनेका थिए,‘ विधायन समितिमा हामी हुनुपर्छ भन्ने छैन, उहाँहरुले बनाए हुन्छ । सार्वजनिक लेखा समिति उहाँहरुले हामीलाई प्रस्ताव गर्नुभएको छ ,हामी हाम्रो अनुकुलमा मान्छे पठाउँछौँ । मलाई हतारो छैन ।’
सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिने संसदीय परम्परा रहेको छ । त्यही मान्यतामा अडेर एमाले सत्तामा हुदा सभापति नेपाली कांग्रेसका सांसद कुमार खड्कालाई दिइएको थियो । उता, विधायन समितिमा भने सत्तापक्षकै मोहन रेग्मी रहेका थिए । सत्ताको नेतृत्व बदलिएसँगै लेखा समितिका सभापति कुमार खड्का प्रदेशको भौतिक योजनामन्त्री बने । कांग्रेस नेतृत्वको गठबन्धन सरकार सो पद एमालेलाई दिन तयार त भयो तर विधायन समितिको सभापति छाड्ने सर्त राखियो । विधायन समितिका सभापति सत्ता पक्षको सहयोगी बन्नुपर्ने र सहमतिमै पद साँटासाँट गर्ने प्रस्ताव एमालेलाई सुनाइयो । तर, सत्ताबाट भर्खरै हटेको एमालेले तत्काल सो पदमा जान रुचि देखाएन । एमाले संसदीय दलमा पृथ्वीसुब्बा गुरुङको निर्णयविरुद्ध प्रश्न उठाउने व्यक्ति छैनन् तर पृथ्वीसुब्बाले कसलाई लेखा समितिमा पठाउने भन्ने निर्णय गर्न समय लगाए ।
उनले त्यही बेला भनेका थिए,‘ धेरै कार्यकर्ता( सांसद)हरु चाहना छ । बसिरहेकाहरुको बसिरहने चाहना पनि छ । तर पनि हाम्रो नयाँ मान्छे नै आउँछ, मन्त्री भएको मान्छे आउँदैन,पहिला समितिको सभापति भएको मान्छे पनि हुँदैन । नयाँ मान्छे आउँछ । नयाँ मान्छे हुँदा जहाँ हिजो मन्त्री भए, सभापति भए त्यहाँबाट नभएर जहाँबाट प्रतिनिधित्व भएन,त्यहीँ ठाउँकोलाई पठाउनुपर्छ ।’
भयो पनि त्यस्तै । एमालेले अन्ततः लेखा समितिको सभापति पदमा नवलपुरबाट प्रतिनिधित्व गर्ने रोशन गाहा थापालाई पठाउने निर्णय ग¥यो । कांग्रेस सांसद ओमकला चालिसे प्रस्ताव र माओवादी केन्द्रकी सांसद गायत्री गुरुङको समर्थनमा उनले बुधबार उम्मेदवारी दर्ता गराए । पटक–पटक मन्त्री हुने चर्चा चलेका उनलाई लेखा समितिमा पठाउने भएपछि विधायन समितिबाट सभापति मोहन रेग्मीले राजीनामा दिए । विधायन समितिमा कांग्रेस सांसद विष्णु लामिछानेले जनमोर्चाकी पियारी थापा र एमाले सांसद राजीव पहारीको प्रस्ताव र समर्थनमा उम्मेदवारी दर्ता गराए । सहमतिमा उम्मेदवारी दर्ता गराएसँगै उनीहरुले सामूहिक तस्वीर खिचाए । एमाले सचेतक मायानाथ अधिकारीले सामाजिक सञ्जालमा सो तस्वीर सार्वजनिक गर्दै बिहीबार बस्ने दुबै समितिको बैठकले सभापति चयन गर्ने जानकारी दिए ।





