बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यासले सुरु गर्यो पिसीआर प्रयोगशाला

व्यासले सुरु गर्यो पिसीआर प्रयोगशाला


  • ढोरपाटन संबाददाता
  • असोज ८ २०७८, शुक्रबार
 व्यास नगरपालिकाले सञ्चालन गरेको पिसीआर प्रयोगशालाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ । तस्बिर : ढोरपाटन

तनहुँ/तनहुँको व्यास नगरपालिकाले पिसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । व्यास नगरपालिका १०, दुम्सीस्थित अस्थायी कोभिड अस्पतालमा पिसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

३० भदौमा प्रयोगशालाबाट नमुना परीक्षण गरिएको थियो । १ असोजमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीले सञ्चालनको अनुमति दिएको हो । बिहीबार गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले उद्घाटन गरिन् ।

अब प्रयोगशाला नियमित सञ्चालन हुने व्यासका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । एक पटकमा ९४ पिसीआर परिक्षण गर्ने क्षमता प्रयोगशालाको रहेको उनले जनाए । ‘३ घण्टामा रिपोर्ट उपलब्ध हुनेछ’, उनले भने । सोतीका अनुसार प्रयोगशालामा ५ जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ ।

गत वर्ष असोज अन्तिम साता व्यास नगरपालिकालाई रोटरी क्लबले पिसीआर मेसिन प्रदान गरेको थियो । पहिलो चरणको कोरोनाले आक्रान्त बनेकोबेला पिसीआर मेसिन पाएपछि जिल्लामै प्रयोगशाला चलाउने बताएको व्यास वर्ष दिनमा सफल बन्यो । पहिलो लहरको कोरोना संक्रमणदर घटेपछि प्रयोगशाला चलाउने क्षमता नभएको प्रतिक्रिया दिएको व्यास सुस्ताएको थियो । बैशाखमा दोस्रो लहर सुरु भएपछि नगरपालिकाले आफ्नै प्रयोगशाला चलाउन बल्ल जुटेको हो ।

यद्यपि, प्रयोगशाला सञ्चालनमा ल्याइएपनि रोटरीले दिएको पिसीआर मेसिन भने प्रयोगमा आएको छैन । ‘त्यो मेसिनले एक पटकमा ८ वटा स्याम्पलमात्रै रिड गर्ने रै’छ । त्यसैले अहिले प्रयोगमा ल्याउन सकिएन । भोलिका दिनमा पिसीआरको लोड बढ्यो भने सञ्चालनमा ल्याउन सकिएला’, स्वास्थ्य शाखा प्रमुख सोतीले भने ।

प्रयोगशाला सञ्चालन गर्न संघीय सरकार, प्रदेश सरकार, जनप्रतिनिधिसँगै विभिन्न क्षेत्रबाट एक करोड ७ लाख ७६ हजार रुपैयाँ सहयोग प्राप्त भएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार संघीय सरकारबाट ५० लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट २५ लाख रुपैयाँ, व्यासका जनप्रतिनिधिबाट एक महिनाको तलब भत्ता १३ लाख रुपैयाँ, कर्मचारीका तर्फबाट आठ लाख रुपैयाँ प्राप्त भएको थियो ।

यस्तै, हेफर इन्टरनेसनलले ४ लाख रुपैयाँ, तनहुँ उद्योग वाणिज्य संघले ३ लाख एक हजार एक सय ५६ रुपैयाँ तनहुँ समाज हङकङ र तनहुँ समाज अस्ट्रेलियाले २/२ लाख रुपैयाँ प्रयोगशाला सञ्चालनार्थ सहयोग उपलब्ध गराएका थिए । प्रयोगशाला भवन निर्माण, पिसीआर मेसिन
खरिद लगायतमा एक करोड ३२ लाख १५ हजार दुई सय ६८ रुपैयाँ खर्च भएको उनले बताए ।

व्यासले दुम्सीको अस्थायी कोभिड अस्पताललाई नगर अस्पताल बनाउने लक्ष्य राखेको छ । नगर अस्पताल निर्माणका लागि टेन्डरको प्रक्रिया सुरु भएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->