लमजुङ/नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लमजुङको राइनास नगरपालिकामा आपसी विवाद हुँदा मतपत्र नै जलाइएको छ । मतपत्र जलाइएपछि त्यहाँ चुनावी रोकिएको छ ।
राइनासमा नुरराज कडरिया र श्रीकृष्ण सिग्देल प्यानलसहित चुनावमा होमिएका थिए । चुनावी मतपत्रमा दुबै उम्मेदवारको क्रम संख्या १ मात्रै राखिएको छ । श्रीकृष्ण पौडेलको नाममा त भोट हाल्ने कोष्ठ पनि छैन । दिउसो चुनावी प्रक्रिया सुरु भएपछि मतदाताहरुले मतदान अधिकृत दीनेश चिलुवालले जानाजान एउटा उम्मेदवारको पक्ष लिएको भन्दै विवाद भएको थियो । त्यति बेलासम्म २०२ मतदातामध्ये १२३ जनाले मतदान गरिसकेका थिए ।
सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेलले सुनियोजित र नियोजित तरिकाले आफूलाई हराउन खोजेको बताए ।
‘आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खोज्ने हाम्रो चाहना थियो तर निर्वाचनको नतिजा स्वीकार्न नचाहने व्यक्तिले यस्तो गरे’,उनले टेलिफोनमा भने,‘ मतपत्रमा पहिलो अल्फाबेट अनुसार मेरो नाम पहिलो हुनुपर्ने , श्रीकृष्ण पहिलो हुन्छ र नुरराज पछि हुनुपर्छ, कुनै एकमा रेजा लगाउनुहोस् भनेको छ, मेरोमा कोलम नै छैन,भोट कहाँ हाल्ने रु स्वभाविक रुपमा मेरो क्रम संख्या २ हुनुपर्ने हो । साथीहरुलाई २ नम्बरमा मत हाल्नुहोस् भने तर त्यहाँ भोट हाल्ने ठाउँ नै छैन । पार्टीलाई कब्जा गर्ने प्रवृत्ति हावी भयो ।’
राइनास देउवा पक्षधर मानिने यसअघि नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापतिसमेत रहेका नेता तुलसीनारायण श्रेष्ठ र लमजुङ कांग्रेसका सभापतिका दावेदार डाक्टर टकराज गुरुङको क्षेत्र हो । दुबै त्यहाँका क्षेत्रीय प्रतिनिधि हुन् । तुल्सीनारायण त विवाद समाधान समितिका संयोजकसमेत हुन् । तर, दुबै नेता मौन बसेको श्रीकृष्ण पौडेलले बताए । आफूलाई सर्वसम्मत सभापति बनाउने सहमति बन्दा पनि नदिइएको उनको गुनासो छ ।
उहाँहरु ९तुुल्सीनारायण र टकराज० मौन रहनु भयो । विवाद समितिको संयोजक नै तुलसीनारायण श्रेष्ठ रहनु भएको रहेछ । मेरो त कुनै गल्ती छैन । आन्तरिक प्रतिष्पर्धासँग डराउनेहरुले यो घटना गराए’,श्रीकृष्णले भने,‘मतपत्र नै यस्तो बनाइयो कि चुनावमा मैले नै जितेको भए पनि अवैधानिक हुने मतपत्र बनाइएको रहेछ ।’
सभापतिमा अर्का प्रत्यासी नुरराज कडरियाले चाहिँ मतदान अगाडि बढाउनुपर्ने र कोठा नभएको विषयलाई सहमतिमा टुंग्याउने प्रस्ताव राखेपनि अस्वीकार गरिएको बताए । उनले कोठमा बनाउने÷नबनाउने भन्ने आफ्नो सरोकारको विषय नभएको र षड्यन्त्र नगरिएको जिकिर पनि गरे ।
निर्वाचन अधिकृत दीनेश चिलुवालले मतपत्र छापिँदा एउटामा कोठा भएको र अर्कोमा नभएकोले निर्वाचनको क्रममा विवाद भएको स्वीकारे । उनले चुनाव रद्ध भएकाले अर्को सूचना नआएसम्म आफूले केही गर्न नसक्ने बताए ।





