स्याङ्जा/ स्याङ्जाको चापाकोट नगरपालिका–६ को एक विद्यालय खुलेको १५ दिनमै बन्द भएको छ ।
विद्यालयको कक्षा ९ मा अध्यनरत दुई छात्रामा कोरोना सङक्रमण प्रमाणित भएपछि विद्यालय बन्द गरिएको हो । साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत एक छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
ती छात्रामा कोरोना पुष्टि भएपछि सँगै बसेका अन्य १० जना छात्र/छात्राको पनि एन्टिजेन परीक्षण गर्दा थप एक छात्रामा कोरोना पुष्टि भएको हो । दुईजना छात्रामा कोरोना पुष्टि भएपछि अन्य विद्यार्थीमा संक्रमण फैलन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णय बमोजिम तीन दिन विद्यालय बन्द गरिएको चापाकोट नगर शिक्षा शाखा प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए ।
आगामी शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने र गेटमै ज्वरो परीक्षण गरी लक्षण देखिएका विद्यार्थीको एन्टिजेन परीक्षण गर्ने न्यौपानेले बताए ।साढे पाँच महिना बन्द भएका बिद्यालय चापाकोटमा भदौ २७ गतेदेखि सञ्चालनमा आएका थिए । चापाकोट नगरपालिकाभित्र ४५ सामुदायिक र सात संस्थागत विद्यालय सञ्चालनमा रहेकोमा अन्य विद्यालय यथावत् चलेका छन् ।





