शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गाउँमै उद्यमी

गाउँमै उद्यमी


  • धु्रबसागर शर्मा
  • असोज २८ २०७८, बिहिबार

म्याग्दी/ धेरै मानिसहरुको रहर काठमाडौंमा घर बनाउने, त्यही बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्न कैयौं व्यक्ति विदेश जान्छन् । गाउँको जाय जेथा बेचेरै भए पनि सहरमा घर बनाउँछन् । तर, म्याग्दीका एक जना व्यक्ति काठमाडौंबाट गाउँमा फर्केर स्थानीय जातका कुखुरा पालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन् ।

काठमाडौंको गोंगबुमा रहेको आफ्नो ५ तले घर अरुलाई भाडामा दिएर गाउँ फर्किएका बेनी नगरपालिका २ बगरफाँटका दुर्गाबहादुर थापाको दैनिकी कुखुरा र केरा खेतीको स्याहार सुसारमा बित्ने गर्छ ।
बिहान उठेदेखि राति नसुतुन्जेलसम्म उनी कुखुराको खोर र केराबारीमा नै व्यस्त रहन्छन् । काठमाडौंको बसाइँलाई बिट मारेर गाउँ फर्किएका ५४ वर्षीय थापाले गाउँमा रहरलाग्दो गरी कुखुरा पालन र केरा खेती गरेका छन् ।

८ लाखको लगानीमा उनले स्थानीय जातका कुखरा पालन गरेका छन् । ‘खोर बनाउन र कुखुराका चल्ला खरिद गर्न ८ लाख लगानी भइसकेको छ,’ थापाले भने, ‘काठमाडौंको एकांकी जीवन भन्दा यही आनन्द छ । आफ्नै माटोमा रमाउनुको मज्जै बेग्लै हुँदो रहेछ । मनमा शान्ति छ, शरीरमा स्फूर्ति छ, यहाँभन्दा बढी के चाहियो र ?’

थापा २ वर्षअघि कोभिड १९ को संक्रमण सुरु हुने बित्तिकै श्रीमती, छोरा र बुहारीसहित गाउँ फर्किएका हुन् । लगत्तै ८ रोपनी जग्गामा करिब एक हजार केराका बिरुवा लगाएर कृषि कर्मको सुरुआत गरेका थिए ।

‘यो खेतमा पहिला धान फल्थ्यो, धान खेती गर्न लागत बढी लाग्ने, उत्पादन कम हुने, झन्झटिलो हुने र कृषि मजदुरको पनि अभाव हुने भएकाले मैले धान फल्ने खेतमा केरा खेती गरेको हुँ,’ घर पछाडिको केरा बारीलाई देखाउँदै थापाले भने, ‘२ वर्ष भयो, अब आउँदो वर्षदेखि केरा बिक्री गरेर वार्षिक ४ लाख भन्दा बढी कमाइ गर्ने लक्ष्य लिएको छु ।’ थापालाई उनकी श्रीमती र छोराले पनि सघाउने गरेका छन् ।

त्यसैगरी थापाले यस क्षेत्रमा नै पहिलो पटक व्यवसायिक रुपमा स्थानीय जातका कुखुरा पालन गरेका छन् । उनको खोरमा अहिले ६ सय बढी स्थानीय जातका कुखुरा बिक्री गर्न योग्य भएका छन् । ३ किलोभन्दा माथिका कुखुरा प्रतिगोटा २ हजारका दरले बिक्री गर्न सुरु गरेका छन् । ‘रहरले गरेको व्यवसाय हो, एकै पटक धेरै नाफा कमाउने उद्देश्य छैन,’ उनले भने, ‘ग्राहकलाई खुसी बनाएर पठाउने र सन्तुष्टि दिलाउने मेरो प्रयास हुने छ ।’

घर वरिपरि रहेको १४ रोपनी जग्गामध्ये ८ रोपनीमा केरा खेती र बाँकी ६ रोपनीमा फलफूल, तरकारी खेती गर्नुका साथै कुखुराको खोर बनाएका छन् । साना ठूला गरी ३ वटा खोरमा उनले स्थानीय जातका कुखुरा पालेका छन् । एउटा खोरमा कालिज प्रजातिको ‘कक्कड’ नामक कालो कुखुरा पनि बिक्री योग्य भएका छन् ।

करिब २० वर्ष कोरिया बसेर फर्किएका थापा काठमाडौंमा घर बनाएर एक दशकसम्म होटेल व्यवसायमा पनि गरे । आफ्नै घरमा सञ्चालन गरेको होटल अहिले अर्कैलाई भाडामा दिएर गाउँमा आई कृषिमा रमाएको उनले बताए । ‘जीवनमा धेरै दुःख गरियो, धेरै थोरै कमाइयो पनि,’ उनले भने ‘तर, कहीं पनि मन रमाउन सकेन, त्यसैले आफ्नै गाउँ फर्किआयौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->