बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

ओली सरकार हटाउनेहरु समाप्त हुनेछन् : पोखरेल

ओली सरकार हटाउनेहरु समाप्त हुनेछन् : पोखरेल


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७८, बिहिबार

पोखरा/ नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अध्यक्ष ओली नेतृत्वको सरकार हटाउनेहरु समाप्त हुने दावी गरेका छन् । उनले आफ्नै पार्टीको सरकार हटाएर विरोधी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनेहरु समाप्त हुने जिकिर पनि गरे ।
‘अवसरवादको खेती गर्ने शक्तिहरु आफ्नो पार्टीको सरकार अपदस्थ गर्ने, विरोधी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने, त्यसका लागि अदालतमा मुद्दा हाल्ने ?’,एमाले कास्कीले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले भने,‘राजनीतिक रुपमा अक्षम्य अपराध गर्ने व्यक्तिहरु छन्, यी व्यक्तिहरुको कुनै भलो हुनेवाला छैन, तिनीहरु समाप्त हुनेछन् ।’

उनको कटाक्ष तत्कालीन एमाले नेता तथा हाल नेकपा एसका अध्यक्ष माधव नेपालसहित हिजो माधव समूहमा लागेर एमालेमै फर्केकाहरुप्रति लक्षित थियो । अन्तिम समयमा एमालेमै रहेका भीम रावलसहितका नेताहरुले १९ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने आवाज उठाउँदै आएका छन् । आउँदो महाधिवेशनमा महासचिवमा नउठ्ने तथा केपी ओलीलाई असजिलो नबनाउने उद्घोष गरेका पोखरेलले नाम नलिए पनि एमालेमै बसेका तर हिजो पार्टी विभाजनलाई उक्साएका नेताहरुको भविष्य नरहने उद्घोष गरेसँगै पार्टीभित्र अझै पनि अन्तरद्वन्द्व रहेको छर्लङ्ग भएको छ ।

महासचिव पोखरेलले अहिलेको पाँच दलीय सत्ता गठबन्धन समाप्त भएर जाने पनि दावी पनि गरे । ‘यो गठबन्धन धेरै दिन टिक्नेवाला छैन’, उनले भने, ‘चकनाचुर हुनेवाला छ ।’
महासचिव पोखरेलले सत्ता गठबन्धन मुलुकको आर्थिक विकास रोक्न, राजनीतिक स्थायित्व धराशायी बनाउन, राष्ट्रिय स्वाधिनता र स्वाभिमान कमजोर बनाउन, सामाजिक सद्भाव खलबल्याउन र विदेशीका सामु घुँडा टेक्न लागेको आरोप समेत लगाए । यसकाविरुद्ध एमाले उभिने उनको भनाई छ ।

सोही कार्यक्रममा बोल्दै एमाले सचिव पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको भण्डाफोर गर्न आह्वान गरे ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले माओवादी र जसपा दलाल पुँजीपति वर्गको मतियार बनेको आरोप लगाए ।
‘दलाल पुँजीपति वर्गकोम मतियार बनेकाहरु कसरी कम्युनिष्ट पार्टी हुन सक्छ ? कसरी समाजवादी पार्टी हुन सक्छ ?’,उनले प्रश्न गर्दै भने,‘‘माओवादी केन्द्र र समाजवादी पार्टीले जसरी समाजवाद र कम्युनिष्ट आदर्शविरुद्ध काम गरिरहेको छ, त्यसको डटेर भण्डाफोर गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->