
पोखरा/ एमालेको वडा अधिवेशनले कास्कीसहित गण्डकीका विभिन्न वडाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । माधव नेपाल समूहले छाडेपछि पार्टीमा गुट–उपगुट नभएको सन्देश दिन वडाहरुमा नेताहरुले ‘सर्वसम्मत’ नेतृत्व चयन गरिएको छ । सर्वसम्मतिको नाममा नेताहरु हावी हुँदा पदका आकांक्षीहरुमा असन्तुष्टि पनि देखिएको छ । केही क्षमतावान व्यक्तिहरुको गतिमा पार्टीको उपल्लो नेतृत्वले ‘ब्रेक’ लगाइदिएको छ । तर,ती नेताहरुले पनि आफ्नो असन्तुष्टि सार्वजनिक रुपमा व्यक्त भने गरेका छैनन् ।
यो समाचार तयार पार्दासम्म कास्कीका ५ वटा पालिकाका केही वडाहरुको नतिजा सार्वजनिक भएको छ भने केही ठाउँमा नयाँ नेतृत्व छान्ने प्रक्रिया चलिरहेको एवं ६–७ ठाउँमा अधिवेशन पर सरेको एमाले कास्की सचिव दामोदर बैरागीले जनाएका छन् ।
‘कास्कीका ७२ वटै वडाको अधिवेशन उद्घाटन भएसँगै सर्वसम्मतिमा नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ, केहीको नतिजा आएको छ भने अन्यको हामी संकलन गर्दैछौँ,’बैरागीले टेलिफोनमा भने,‘आइतबार सबैजसो वडाको नेतृत्वको जानकारी संकलन हुन्छ ।’
एकैदिनमा सबै वडामा नयाँ नेतृत्व छान्ने उद्घोष गरिएपनि केही वडामा भने ‘विवाद’का कारण नयाँ नेतृत्व चयन हुन सकेको छैन । वडा नम्बर ९ मा नै अधिवेशन रोकिएको छ । नेता प्रकाश बरालले विवादका कारण नभइ तयारी नपुगेकाले अधिवेशन पर सारिएको र कात्तिक १५ गतेसम्म सम्पन्न गरिसक्ने जिकिर गरे ।
तर,स्रोतका अनुसार सर्वसम्मतिको नाममा उपल्लो नेतृत्वले आफू अनुकूलका व्यक्तिलाई कमिटीमा ल्याउन लागेको भन्दै केही वडाहरुमा असहमति जाहेर भएको हो । एमालेले पार्टी विभाजन भएको अवस्था रहेकाले निर्वाचनमा जाँदा झन फुट हुनसक्ने भन्दै सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने रणनीति अख्यितार गरेको छ । यसले गर्दा नेतृत्वमा आउन चाहने आकांक्षीहरुलाई रोक्ने काम गरिएको र अर्कोतर्फ पार्टीभित्र कायम रहेको ‘गुट’ले आफू अनुकूलको नेतृत्व स्थापित गर्न खोजेको देखिएको एक एमाले नेताले बताए । उनका अनुसार माधव समूह नरहेपछि कास्कीसहित गण्डकीमा यतिबेला गण्डकी इन्चार्ज तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारीबीच अघोषित द्वन्द्व रहेको छ । एउटै गुटमा रहेर पनि दुई नेताहरु एक–अर्कालाई मन पराउँदैनन् । पछिल्लो समय पृथ्वीसुब्बाले खगराजको गृहजिल्ला कास्कीमा पनि आफ्नो पकड बढाउँदै लगेका छन् । अर्का नेता किरण गुरुङ,जगत विश्वकर्मालगायतका नेताहरु पृथ्वीसुब्बाको पक्षमै लागेपछि खगराजलाई कमजोर बनाउने खेल सुरु भएको छ ।
‘यो द्वन्द्व तल्लो तहसम्म पुगेको त छैन तर दुबै नेताहरु आफू अनुकूलका कमिटी निर्माण गर्न लागिरहेका छन्, अब माथिल्ला चुनावमा त्यो द्वन्द्व देखिन सक्छ’,ती नेताले भने,‘वडा तहमा भने सर्वसम्मतको नाममा क्षमतावान र नयाँलाई रोक्ने काम भइरहेको छ ।’ वडाबाट चुनिने प्रतिनिधिले पालिकाको नेतृत्वको लागि मतदान गर्ने भएकाले पनि तलैबाट आफू अनुकूलका व्यक्ति रोज्न खोजिएको उनले जिकिर गरे । वडा नेतृत्वको लागि सबै पार्टी सदस्यले र पालिका नेतृत्वको लागि १० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि,महिलाको लागि ५ जना बराबर १ जना प्रतिनिधि तथा दलितको हकमा ३ जना बराबर १ जना प्रतिनिधि चुनिने व्यवस्था छ । वडा कमिटीका ५ जना पदाधिकारी पनि मतदाता रहने एमालेको विधानमा व्यवस्था छ ।
कास्की सचिव बैरागीका अनुसार हालसम्म अन्नपूर्ण गाउँपालिकाका १,३,५ र ११ नंबर वडाले नयाँ नेतृत्व पाइसकेको छ । माछापुच्छे«,मादी र रुपामा पनि धेरैजसो वडामा अधिवेशन सम्पन्न भएको छ ।उनका अनुसार पोखराको ९ वटा वडामा शनिबार अधिवेशन हुन सकेन । यता,वडा नम्बर ३ मा सुरेन्द्र परियार, ४ मा शंकर कोइराला,७ मा किशोर बराल, पोखरा १० मा सूर्यबहादुर बानियाँ ११मा मीनबहादुर गुरुङ,१२ बलराम ढुंगाना, १३ मा निलकण्ठ सिग्देल,१४ मा बटुकृष्ण कुँवर ,१५ मा भोजबहादुर गुरुङ,१९मा विष्णु गौतमको अध्यक्षतामा नयाँ कमिटी बनेको छ । एमालेको वडा कमिटी ३३ प्रतिशत अनिवार्य महिलासहित एमाले गाउँपालिका वडा कमिटी ३१ र महानगरपालिकाका वडा कमिटी ५१ सदस्यीय रहन्छ । वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित २ उपसचिव निर्वाचित हुने एमालेको विधानमा उल्लेख छ । २ मध्ये १ उपसचिवमा महिला हुनुपर्ने व्यवस्था छ । गाउँपालिकाको वडा कमिटी ३१ सदस्यीय र महानगरपालिकाका वडा कमिटी ५१ सदस्यीय हुने व्यवस्था छ । एमालेको कात्तिक ९ गते पालिका अधिवेशन कात्तिक १९ गते हुँदैछ ।





