स्याङ्जा/ कोरोनाको सङ्क्रमणका कारण रोजगारी गुमाएका यहाँका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।
रोजगारी गुमाएका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० जनालाई जनही ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । नगरले गतवर्ष पनि २० जनालाई ५० हजारका दरले अनुदान उपलब्ध गराएको थियो ।
कोरोना सङ्क्रमणका कारण प्रभावित भई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकहरुलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको र सोही कोषमार्फत् सहयोग गर्दै जाने प्रमुख खाँणले बताए ।
नगरपालिकाले व्यवसाय वा उद्यम गर्न चाहने नागरिकहरुले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाइ कार्यान्वयनमा ल्याएको छ ।
विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवा युवतीहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाइ उनीहरुको आय आर्जन बृद्धि गर्नका लागि ‘उद्यमशिलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरी सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने प्रमुख खाँणको भनाइ छ ।
कोरोनाभाइरस प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवा युवतीहरुलाई उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा गतवर्षदेखि नगद अनुदान दिन थालिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् ।
कोरोना सङ्क्रमणका कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याइ उनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्य रहेकोले कोषमार्फत सहयोग गर्ने युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले जानकारी दिए ।





