तनहुँ/ तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् । दोस्रो लहरमा फैलिएको कोरोना संक्रमण घट्दै गएपछि कात्तिक चौंथो साता जिल्लाका पाँच स्थानीयतह कोरोना मुक्त भएका हुन् ।
जिल्लाको ऋषिङ गाउँपालिका, घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनीमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए । यी पालिकामा कोरोनाको परिक्षण पनि निकै कम छ ।
जिल्लामा मंगलबार एक जनालाई मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ११ जनाको कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षण कम हुँदा संक्रमणदर पनि कम भएको अधिकारी बताउँछन् । भन्छन्, ‘कोरोना परिक्षण बढाउने हो भने संक्रमण पनि बढी देखिन्छ ।
जिल्लामा हाल ३८ जना कोरोनाका सक्रिय संक्रमित छन् । सबैभन्दा धेरै व्यास नगरपालिकामा १६ जना सक्रिय संक्रमित छन् । शुक्लागण्डकी नगरपालिकामा १४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कमा उल्लेख छ । भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकामा तीन÷तीन जना र भानु नगरपालिकामा दुई जना कोरोनाका सक्रिय संक्रमित छन् ।
दोस्रो लहर सुरु भएपछि जिल्लामा पाँच हजार तीन सय ६६ जनालाई संक्रमण पुष्टि भएको छ । तीमध्ये पाँच हजार दुई सय चार जना निको भएका छन् । एक सय २४ कोरोना संक्रमितको दोस्रो लहरमा निधन भएको स्वास्थ्य कार्यालयसँग तथ्यांक छ ।
गण्डकी प्रदेशभर मंगलबार ३२ जना संक्रमित थपिए । पछिल्लो २४ घण्टामा २५० जनाको कोरोना परीक्षण गरिएको थियो । सबैभन्दा धेरै संक्रमित कास्कीमा १७ जना थपिएका हुन् । म्याग्दी, मुस्ताङ र मनाङमा मंगलबार संक्रमित थपिएनन् । ८७ जनाले कोरोनालाई जितेका छन् ।
हालसम्म गण्डकी प्रदेशमा ८७ हजार पाँच सय ३४ जनालाई कोरोना पुष्टि भएको छ । तीन लाख ४७ हजार छ सय ६८ नमुनाको पिसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीमा सक्रिय संक्रमित ४२६ जना छन् । होम आइसोलेसनमा तीन सय ९१ जना छन्् । कोरोनाका कारण गण्डकीभर एक हजार तीन सय ९८ जनाको निधन भएको छ ।





