बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिताके च्याउले पाएन बजार

सिताके च्याउले पाएन बजार


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३० २०७८, मंगलबार

तनहुँ/ तनहुँको शुक्लागण्डकी नगरपालिका२, तार्कुडाँडा भंगराका किसान सामूहिक रुपमा सिताके च्याउ उत्पादनमा होमिएका छन् । पहिलो चरणको कोरोनाको जोखिम बढेपछि भएको निषेधाज्ञाको बेला फुर्सदिला बनेका १६ जना किसान समूह बनाए सिताके च्याउ खेतीमा समर्पित भएका हुन् ।

पाँच सय कटुसको मुढामा च्याउ लगाइएको छ । पहिलो वर्ष अपेक्षित उत्पादन भएन । ४७ किलोमात्र उत्पादन भएको थियो । समूहमा आबद्ध किसानले आफैं उपभोग गरे । बाँकी रहेको बजारमा खोसाखोस भयो ।
यसपालि च्याउ रहरलाग्दो गरेर फलेको छ । मुढामा फलेका च्याउले हौसाएको छ किसानलाई । तर, बजार पाउन मुस्किल बनेको छ । बजार नपाएपछि किसान आफैंले उपभोग गर्न बाध्य छन् । अन्य च्याउले जस्तो बजार पाउन नसकेको तार्कुडाँडा भंगरा कृषक समूहका अध्यक्ष उदयराज खनाल बताउँछन् । उनी भन्छन्, ‘मेहनत गरेर च्याउ फलायौं । एउटै मुढामा सयको हाराहारीमा च्याउ फलेको छ । छ्यापछयाप्ती बजार पाउन सकेका छैनौँ । उचित बजार खोजिरहेको छौँ ।’

सिताके प्रजातिको च्याउको मूल्य अरुभन्दा अलिक धेरै पर्ने भएकाले पनि बजार नपाएको उनले बताए । सुरुमा सात सय रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको च्याउ उत्पादन बढ्न थालेपछि अहिले मूल्य घटाएर छ सय रुपैयाँमा बिक्री भइरहेको छ । बजार पाउन मुस्किल भएपछि अझै मूल्य घटाउने तयारी भएको खनालले जनाए । यस क्षेत्रका उपभोक्ताले सिताके प्रजातिको च्याउलाइ चिन्न नसकेको कारण बजार नपाएको उनको बुझाइछ ।
यो वर्ष असोज अन्तिम यता दुईसय किलो बढी च्याउ उत्पादन भइसकेको छ । अझै चार महिना उत्पादन हुने भएकाले कसरी बेच्ने यही चिन्ताले सताएको किसान बताउँछन् । अहिले उत्पादित च्याउ यहाँका कोत्रे, दुलेगौँडा, खैरेनीटार बजार क्षेत्रका घरघरै लगेर बिक्री गरिन्छ ।

सिताके शुक्लागण्डकीमा नयाँ प्रजाति भएकाले विषालु हुने आंशका गर्दै ग्राहकले खरिद गर्न नखोज्ने कृषक समूहकासचिव खेम गुरुङ बताउँछन् । ‘पहिलो चरणमा त हामीले जनप्रतिनिधिलाई बेचेका छौँ । जनप्रतिनिधिले किनेपछि त अरुले पनि किन्लान ठानेर’, उनले सुनाए । पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा पनि बिक्रीका लागि प्रयास भइरहेको उनले बताए ।

किसानले च्याउ खेतीमा हालसम्म झन्डै पाँच लाख रुपैयाँ लगानी गरेका छन् । शुक्लागण्डकी नगरपालिका २ को कार्यालयले बिउ खरिदमा गत आर्थिक वर्षमा ५० हजार रुपैयाँ अनुदान दिएको थियो । समूहमा आबद्ध किसानले ४८ हजार रुपैयाँ नगद लगानी गरे । ‘धेरै त हामीले श्रमदान नै गरेका छौँ’, उपाध्यक्ष नेत्रबहादुर गुरुङले बताए । बांगे रह थेप्चे र तारा सामुदायिक वनले च्याउ उत्पादन गर्न आवश्यक कटुसका मुढा निशुल्क दिएको गुरुङले जानकारी दिए । तार्कुडाँडा भंगरा खानेपानी उपभोक्ता समितिले निशुल्क आवश्यक पानी उपलब्ध गराएको छ ।

कटुसको स्याउलाले छाएर स्थानीय स्रोतसाधन प्रयोग गरी च्याउ लगाउन टनेल बनाइएको छ । छानोमा स्याउलाको सट्टा जुट राख्न उपयुक्त भएपनि उत्पादित च्याउले बजार नपाएपछि रकम अभावमा राख्न नसकेको गुरुङले बताए । ‘स्थानीय सरकार र कृषि ज्ञान केन्द्रसँग अनुदानभन्दा च्याउ खेतीमा आवश्यक औजारको अपेक्षा छ’, उनले भने ।

किसानका अनुसार सिताके च्याउले असोजको अन्तिमदेखि फागुन दोस्रो सातासम्म उत्पादन दिन्छ । एकपटक मुढामा बिउ रोपेपछि पाँच वर्षसम्म अर्थात मुढा नकुहिएसम्म उत्पादन दिने बताइन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->