पोखरा/कास्की प्रहरीले लुटपाटको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । बालबालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको उनी माथि अभियोग छ । स्याङ्जा घर भई पोखरा महानगरपालिका १४ बस्दै आएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अम्बिकाले मीठा–मीठा खानेकुराहरु खान दिने र ललाई फकाई गर्दै ५ जना बालबालिकाहरुको मुन्द्रा लुटपाट गरेकी हुन् ।
मुन्द्रा लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा लुटपाट गरेको उक्त मुन्द्रा र ग १५ प ६७८८ नम्बरको स्कुटरसहित उनी पक्राउ परिन् । पक्राउ त परिन् तर उनले अझ कतिलाई लुटेको वा अन्य जानकारी भने आउन सकिरहेको छैन् ।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्कीका ३ निर्वाचन क्षेत्रमासमेत क्षेत्रीय र महाधिवेशन प्रतिनिधिको निर्वाचन चलेका कारण अनुसन्धानमै प्रभाव परेको हो । प्रहरीले ३ निर्वाचन क्षेत्रमा सुरक्षा दिन व्यस्त भएपछि प्रहरीको कार्यालयको काममा समेत प्रभाव परेको हो ।
‘हामीले घटनाबारे थप अनुसन्धान गर्न पाएका छैनौँ । निर्वाचनका कारण हामी सुरक्षा व्यवस्थामा खटिनुपर्दा त्यता आज अनुसन्धान गर्न पाएनाँै’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले भने,‘रामबजारबाट सर यस्तो यस्तो काम भएको छ । हामीले विस्तृत अनुसन्धान गर्दै छौँ भन्नुभएको छ । ’





