पाेखरा/ कास्की क्षेत्र नम्बर ३ को सभापतिमा ३ सय ८३ मतसहित मनोज विजयी बने । उनी पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । प्रतिस्पर्धी खिमलाल बास्तोलाले ३ सय १७ मत प्राप्त गरे । तरुण दल कास्कीको सभापतिसमेत रहेका मनोजले १३ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सचिवमा मनोज समूहकै मेखबहादुर तामाङले ३ सय ४३ मतसहित विजय प्राप्त गरे भने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका लक्ष्मीप्रसाद पौडेलले ३ सय २७ मतसहित विजयी बने । सहसचिवमा मनोज समूहका सितल अधिकारी र आइन्दल गुरुङले बाजी मारे । उनीहरुले क्रमशः ३ सय ६५ र ३३४ मत प्राप्त गरे । कास्की क्षेत्र नम्बर ३ मा ७ सय ३६ मतदाता रहेकोमा ७ सय २६ मत खसेको थियो । कास्की क्षेत्र नम्बर १ र २ मा भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर राजेन्द्रमणि लामिछाने र केशरप्रसाद निर्दोषी विजयी बनेका छन् ।





