बेनी/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रचण्डले नेतृत्व हस्तान्तरण गरे पार्टी एकता सम्भव रहेको बताएका छन् । सबै माओवादीहरु एकीकृत हुनका लागि प्रचण्ड पार्टीको संरक्षकमा बसेर नेतृत्व छोड्न तयार नहुँदासम्म अहिलेकै अवस्थामा कुनैपनि हालतमा पार्टी एकता नहुने बताए ।
बुधबार मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई म्याग्दीको सदरमुकाम बेनीमा सम्वोधन गदैं महासचिव चन्दले जनयूद्ध, सत्ताको नेतृत्वमा पुगेर प्रचण्डले अनुभव गरिसकेकाले शहीद, घाइते र मान्छेका सपनाहरु पूरा गर्न माओवादी क्रान्तिकारीहरु ध्रुविकरणका लागिसमेत नेतृत्व परिवर्तनको विकल्प नभएको बताए ।
‘भेटघाट नै नभएको अवस्थामा पार्टी एकताको हल्ला चलेको छ’,महासचिव चन्दले भने,‘स्वार्थी रवैयाका कारण अहिलेकै अवस्थामा एकता सम्भव नै छैन ।’ पार्टी एकता र निरन्तर भेटघाटका बारेमा सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको समेत उनले दावी गरे । ‘एकैदिनमा पार्टी एकता हुने होइन्,यहाँ मिल्नुपर्ने धेरै कुरा छ’, नेता चन्दले भने । उनले माओवादी केन्द्रसँग एकताको आवश्यकता रहेको भएपनि आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा सहयोग, जनयुद्धको कार्यदिशा लागूलगायतका विषयमा प्रष्ट नहुदाँसम्म एक्लै संघर्ष गर्ने बताए ।
महासचिव चन्दले संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भएकाले वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत सघंहरुद्वारा जनतालाई प्रदान दिनुपर्ने बताए । ‘संसदीय व्यवस्थामै समस्या देखिएको छ’,उनले भने,‘जनमत संग्रहको सामाना गर्न अहिलेका राजनीतिक दल तयार छैनन् ।’ नेता चन्दले संसदीय व्यवस्थामै अहिले आफ्नो पार्टीलाई आधा दर्जन मन्त्रालयसहित करोडौंको प्रस्ताव गरिएकोसमेत दावी गरेका गरे । ‘हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं,जनयुद्धका शहीदको सपना पूरा हुन अझै बाँकी छ’,उनले भने,‘पद र पैसाको राजनीतिले समस्यालाई समाधान गर्ने नभइ देशलाई नै झन् ठूलो संकटमा फसाइएको छ ।’
जनयूद्धको नेतृत्व गर्ने प्रचण्ड–बाबुरामप्रति कटाक्ष गर्दै उनले जनयुद्धपश्चात् प्रचण्ड र बाबुरामले सत्ताको स्वाद र विदेशीको इसारामा गलत बाटो रोजेकाले अहिलेको संकट देखिएको बताए । उनले भारतीय हस्तक्षेपका कारण नेपालका ठू्रला जलविद्युत आयोजनाहरु सहित प्राकृतिक स्रोतसाधनमा घोषित रुपमै कब्जा जमाउने काम भएकोसमेत बताए । उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षण गराए । गठबन्धन सरकारसँगसर्तहरू पूरा गर्न गरिएको प्रयास सफल नभएको भन्दै महासचिव चन्दले आक्रोश पोखेका छन् । उनले जनताको अधिकार स्थापित नभए फेरि पनि विद्रोह कसैले रोक्न नसक्ने बताए ।
अधिकांश समय राष्ट्रिय राजनीतिका बारेमा बोलेका चन्दले म्याग्दीमा माओवादीले गरेको बेनी आक्रमणको समेत स्मरण गर्दै जनयुद्धका हतियार आफ्नो पार्टीसँग नभएको बताए । उनले विभिन्न सञ्चारमाध्यममा विप्लवसँग हतियार रहेको भन्दै अनावश्यक भ्रम फैलाउने प्रयास गरिएकोमा आक्रोस व्यक्त गर्दै भने,‘हामीसँग विचारको हतियार छ । कसैले दमन गर्न खोजे आवश्यक परे सबै चिज हतियार बन्न सक्छ ।’ प्रचण्डतर्फ लक्षित गर्दै उनले जनयुद्धको हतियारहरू अहिले सत्तामा भएकाहरूसँगै हुनसक्ने जिकिर गरे । हतियार जनताको आवश्यकता अनुसार उत्पादन गर्न सकिने उनको उद्घोष थियो । मंगलबार म्याग्दी आएका चन्द पार्टीका धौलागिरी इन्चार्ज धुब्र घिमिरेको घरमा बसेका छन् । पार्टी पुनःस्थापना दिवसको अवसर पारेर गरिएको आयोजना गरिएको आयोजक समितिका संयोजक गमबहादुर श्रीस मगरले बताए । उद्घाटनको अवसरमा बेनीबजार मा बिभिन्न झाँकी र जुलुससहित परिक्रमा गरि खुल्ला मञ्चमा पुगेका थिए । बिहीबारसम्म चल्ने सम्मेलनमा देशभरबाट १ सय ५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी छन् ।
म्याग्दीको सदरमुकाम बेनीमा चन्द । तस्वीर हरिकृष्ण गौतम





