बेनी/ आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहरदेखि गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेका बीचमा म्याग्दीका एक ज्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका १, दोवाका तुल्मराज राम्जालीले विपन्नको उपचारमा सहयोग गर्ने गरी कोषलाई ५० हजार रुपैयाँ कोषका अध्यक्ष राजेश शाक्य र कोषाध्यक्ष विनय श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
जन्मदिनको अवसरमा हुने विभिन्न खर्चप्रति कुनै मोह नभएको र सामाजिक संघसंस्थामै सहयोग गरी मनाउने चाहना अनुसार सहयोग गरेको राम्जालीको भनाइछ । सोही अवसरमा कोषले आफ्नो विधानअनुसार सहयोगदाता राम्जालीलाई गोल्डेन संरक्षक सदस्यता प्रदान गरेको छ । व्यक्तिगत रुपमा ५० हजार सहयोग गर्नेलाई उक्त सम्मान गरिन्छ ।
सोही अवसरमा उज्यालो वैकल्पिक विद्यालयलाई राम्जालीले १० हजार, मोना हङकङ महिला विभागबाट ५ हजार १८० र मोना हङकङका पूर्वअध्यक्ष दल शेरबुर्जाको ५ हजार हस्तान्तरण गदै भविष्यमा पनि सहयोगको प्रतिबद्धता जनाएका थिए । स्वागत तथा सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष शाक्य, स्वागत प्रथम उपाध्यक्ष हरिकृष्ण गौतम र सञ्चालन सचिव लोकेश पुनमगरले गरेका थिए ।





