म्याग्दी – ढोरपाटन राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम ‘मिडिया सोसाइटी अवार्ड’ बाट सम्मानित भएका छन् । म्याग्दी मिडिया सोसाइटीको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा शुक्रबार टोड्केमा आयोजित समारोहमा उनलाई सात हजार ८६५ नगदसहित पुरस्कृत गरिएको हो ।
एक दशकदेखि म्याग्दी जिल्लामा रहेर आर्थिक, सामाजिक लगायत विविध पक्षमा कलम चलाइरहेका गौतमलाई संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सम्मानित पत्रकार गौतमले आफूले प्राप्त गरेको पुरस्कारको रकम म्याग्दीका विपन्न बालबालिकाको शिक्षादीक्षामा सहयोग गर्ने घोषणासमेत गरेका छन् । २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले बताए ।
दुई लाख पाँच हजार रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । प्रत्येक वर्ष दश प्रतिशतका दरले पुरस्कारको राशी बढाउने गरिएको छ।





