बागलुङ/धौलागिरी अस्पतालको ठुलो प्राङ्गण । अघिल्लो भागमा भरिभराउ देखिएका सेवाग्राही अनि पछिल्लो भागमा नर्सिङका विद्यार्थी । कागजबाट तयार पारिएका बिभिन्न सामग्रीहरु । खानका लागि दिन दैनिकीमा प्रयोगमा आउने खाद्यान्न, फलफुल तथा तरकारी र गेडागुडी । झट्ट हेर्दा लाग्थ्यो यहाँ कुनै उत्सव चलिरहेको छ ।
गर्भावस्था, जन्मेपछि एक हजार दिनसम्मका बालबालिका अनि सुत्केरी आमाका लागि आवश्यक पर्ने पोषणका बिषयमा सर्वसाधारणलाई जानकारी गराउने कार्यक्रम थियो । धवलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा नर्सिङ तस्रो वर्ष अध्ययन गरिरहेका विद्यार्थीले ‘डेमोस्टेशन’मार्फत सचेत गराईरहेका थिए । कोरोना भाईरसबिरुद्धको खोप दोस्रो मात्रा लगाउने कार्यक्रम रहेकाले अस्पतालमा विद्यार्थी र सर्वसाधारणको उल्लेख्य उपस्थिती थियो ।
मौकाले ‘डेमोस्टेशन’ हेर्न सबै पुगे । पोषण र मनोरञ्जन बालबालिकाका लागि आवश्यक छ भन्ने सन्देश बोकेका सामग्री र खाद्यान्न, तरकारी तथा फलफुलहरु देखाउँदै विद्यार्थीहरु सर्वसाधारणलाई बुझाई रहेका थिए । समुदायमा पोषण सम्बन्धि सचेतनाका लागि विद्यार्थीहरुले ‘डेमोस्टेशन’ प्रदर्शन गरेका हुन् । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको ‘डेमोस्टेशन’ प्रदर्शन गर्ने कार्यक्रम यसवर्ष अस्पतालमा गरिएको नर्सिङ तस्रो वर्षका संयोजक बिञ्जु खड्काले बताईन् ।
‘विद्यार्थीको लागि प्रयोगात्मक सिकाई र सर्वसाधारणको लागि सचेतना दुवैका लागि हामीले ‘डेमोस्टेशन’ प्रस्तुत गरेका हौं’ उनले भनिन् ‘निकै मेहनतले तयार भएकाले सामग्रीले पोषण र मनोरञ्जनको बिषयमा प्रष्ट पारेको छ ।’ कुपोषित हुनसक्ने अवस्था, उमेर अनुसार खुवाउनु पर्ने पोषिलो खाना, उमेर अनुसार पु¥याउनुपर्ने पोषणको मात्रा, स्थानीय खानाको परिकार र मानसिक स्वास्थ्यका लागि आवश्यक मनोरञ्जनका साधनको बिषयमा समेत विद्यार्थीहरुले सामग्री तयार गरेका थिए ।
‘यो एउटा अवसर हो, अस्पतालमै गरिएको ‘डेमोस्टेशन’ले धेरैलाई सिकाएको छ’ धौलागिरी अस्पतालमा रहेको पोषण गृहका संयोजक निशान्त आचार्यले भने ‘विद्यार्थीहरुले सिकाई र सचेतनाका लागि गरेको मेहनत प्रशंसनीय छ ।’
‘डेमोस्टेशन’मा ४० जना विद्यार्थी, प्रशिक्षक र सरोकारवाला सहभागि भएका थिए । अस्पतालमा स्वास्थ्योपचारका लागि पुगेका ५ सय जनाभन्दा धेरैले ‘डेमोस्टेशन’ हेरेर सुझाव दिएको आचार्यले बताए । ‘अझै राम्रो पक्ष त के हो भने भिजिटर धेरै विद्यार्थी नै भए, जसका कारण पोषण सम्बन्धि सचेतना समुदायमा पु¥याउन सहज हुन्छ’ आचार्य भन्छन् ‘आज पनि कुपोषणको समस्या भएका बालबालिकाको हामि उपचार गरिरहेका छौं, सचेतनाले दर घटाउँछ ।’










