बेनी / म्याग्दीको धवलागिरि गाउँपालिकाको १३ औं गाउँसभाले थप बजेट विनियोजन गरेको छ । गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको र विनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता विधेयक पारित गरेको हो ।
गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गरेको प्रस्ताव सभाका सदस्यहरुले छलफल पछि पारित भएको थियो । संस्था दर्ता सम्बन्धी विधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नविकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ ।
महालेखा परीक्षकको कार्यालयको निर्देशन अनुसार गाउँपालिकाले योजना कार्यान्वयनका लागि गठन हुने उपभोक्ता समितिलाई पनि दर्ता गरेर सम्झौताको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए । ‘उपभोक्ता समितिलाई जवाफदेही र जिम्मेवार बनाउन दर्ता गर्न लागिएको छ । अब दर्ता भएकाबाट मात्रै पालिकाले काम गर्छ,’ उनले भने ।
गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको र बाडफाँट गर्न बाँकी तीन करोड ७० लाख बजेट चालु आर्थिक वर्षका लागि ५५ वटा योजना तथा कार्यक्रममा विनियोजन गरेको छ । यसअघि गत असारमा भएको बाहै गाउँसभाले सामाजिक सुरक्षा भत्तासहित चालु आर्थिक वर्षका लागि ४८ करोड ४० लाख रुपैयाँ बजेट पारित गरेको थियो ।
उपाध्यक्ष रेशम छन्त्यालले क्रमागत अधुरा योजनालाई पूर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताए । ‘प्राथमिकतामा परेका योजनाहरुमा बजेट दिएका छौं । समयमै सम्पन्न गर्ने गरी काम हुन्छ,’ उपाध्यक्ष छन्त्यालले भने । लुलाङको वडा कार्यालय भवनलाई पूर्णता दिन ४० लाख र ताकमको वडा कार्यालय भवनलाई पूर्णता दिन थप १६ लाख विनियोजन भएको छ ।
वडाध्यक्षले सिफारिस गर्ने योजनाका लागि सात वटै वडामा दश÷दश लाखका दरले विनियोजन भएको छ । संघीय र प्रदेश सरकारको खातामा फिर्ता गर्नुपर्ने ३५ लाख बजेट पनि सभाले विनियोजन गरेको छ । पालिकाको लेखा समितिको बैठक बस्न नसक्दा कार्यसूचीमा राखिएको बेरुजु फस्र्योटसम्बन्धी प्रस्ताव सभामा पेश हुन भने सकेको छैन ।
लेखा समितिको संयोजकमा प्रस्ताव गरिएका वडा नम्बर १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्याल र वडा नम्बर ५ की अध्यक्ष खर्ककुमारी छन्त्यालले बजेट विनियोजनमा देखिएको असमानका कारण जिम्मेवारी लिन नसक्ने भन्दै फरक मत राखेका छन् ।





